सूचनाको शक्ति - The Power Of Information

        

‘स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ’


बाँके । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्जमा प्रभातफेरी, स्वयंसेवीका सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा आज ब्याण्ड बाजासहित नगरमा ¥याली निकालिएको छ भने एक साथ विभिन्न वडाका २३ महिला स्वयंसेविकालाई सम्मान पनि गरिएको छ ।
दिवस १९ गते भएपनि प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका कारण केहीदिन स्थगित गरी आज मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु प्रभातफेरी त्रिभुवन चौक, चारवाहिनी चौक, गणेशमान चौक हुँदै होटेल बाटिकामा पुगेर सभामा परिणत भएको थियो । महिला स्वास्थ्य स्वयंसेवीकाको निस्वार्थ सेवा स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नारासहितको ¥यालीमा स्वयंसेवीले वाजागाजा, नाचगानसहित सचेतना फैलाएका थिए । निरन्तर स्वास्थ्य सेवामा योगदान पु¥याएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाभित्रका २३ जना महिला स्वयंसेविकालाई सम्मान पत्र, तामाको कलश, दोसल्लासहित सम्मान गरिएको थियो ।
सम्मान गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना, कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याए । स्वयंसेविकाले सरकारका स्वास्थ्य लगायतका विभिन्न कार्यक्रम र अभियानलाई सफल बनाएको स्मरण गर्दै उनले सोही अनुसारका सेवासुविधा दिन स्थानीय सरकार प्रतिवद्ध रहनुपर्नेमा जोड दिए । स्वयंसेविकालाई हेर्ने सोंचमा सकरात्मक परिवर्तन आउन पनि जरुरी रहेको उनको तर्क थियो । जिल्ला जनस्वाथ्य कार्यालय बाँकेका निमीत्त प्रमुख चक्रबहादुर खड्काले महिला स्वयंसेविकाको भूमिका र जिम्मेवारी मानवीय संवेदनशिलता र स्वास्थ्यसँग जोडिएकाले थप उत्तरदायी बन्नुपर्ने सुझाए ।
महिला स्वास्थ्य स्वयंसेविका संघकी अध्यक्ष मन कुमारी सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत एवं स्वास्थ्य संयोजक सरोजकुमार शाह, जिल्ला जनस्वास्थ्य परिवार नियोजन शाखाका सुपरभाइजर अधिकृत बसन्त गैरे, स्वयंसेविका अक्षय कोषकी अध्यक्ष नारायणी रुपाखेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । स्वास्थ्यसँग सम्वद्ध संघ संस्था, स्वयंसेविका लगायतको उपस्थिती रहेको कार्यक्रमको स्वागत मन्तव्य महिला स्वास्थ्य स्वयंसेविका गिता रानाले गरेकी थिइन् भने सञ्चालन उपमहानगरपालिकाका सिनियर अहेव अधिकृत हरिहर तिवारीले गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०९:३९