सूचनाको शक्ति - The Power Of Information

        

पाँच राष्ट्रिय पार्टी, केन्द्रीय संसदमा नौं पार्टी


काठमाडौं । संविधान जारी भएपछि पहिलो पटक भएको प्रतिनिधि सभा निर्वाचनबाट ५ वटा मात्र राष्ट्रिय पार्टी भएका छन् । प्रत्यक्षतर्फ एक सिट र समानुपातिकबाट ३ प्रतिशत थ्रेसहोल्ड कटाउनै पर्ने प्रावधानका कारण राष्ट्रिय पार्टी ५ वटा भएका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काग्रेस, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्र थ्रेस होल्ड कटाएका छन् ।
सानुपातिकतर्फको मतपरिणाम सकिन लाग्दा राष्ट्रिय पार्टीको लक्ष्य राखेको नयाँ शक्ति पार्टी भने नहुने पक्कापक्की जस्तै भएको छ । शुक्रबार बिहान साढे ११ बजेसम्मको परिणाम अनुसार एमालेले ३० लाख १० हजार ८९६ मत पाएको छ । नेपाली कांग्रेसले २९ लाख ३७ हजार ९२२, माओवादी केन्द्रले १२ लाख ९ हजार ८०१ मत प्राप्त गरेका छन् । यसैगरी फोरम नेपालले ४ लाख २६ हजार १५ र राजपाले ३ लाख ९९ हजार ५८२ मत पाएका छन् । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी भने राष्ट्रिय पार्टी नहुने भएको छ ।
अब करिव १० लाख भोट गणना गर्न बाँकी रहँदा नयाँ शक्तिले केवल ७८ हजार २०१ मत प्राप्त गरेको छ । प्रत्यक्षमा एक सिट जिते पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी नबन्ने भएको हो । यसैगरी प्रत्यक्षतर्पm सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय पार्टी बन्ने छैनन् । यसैगरी पछिल्लो समय चर्चामा रहने गरेको विवेकशिल साझा पार्टीको पनि केन्द्रमा प्रतिनिधित्व नहुने भएको छ । उसले पनि थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको छ । रविन्द्र मिश्रले नेतृत्व गरिरहेको पार्टीलाई अझै एक लाख बढि मत चाहिन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०८:२७