सुदिल पोखरेल/काठमाडौं । सामान्य हुस्सुमा अहिले तराईका विमानस्थलमा उडान र अवतरण रोकिँदैन । ठूला जहाजको उडान र अवतरण हुने प्रदेश–७ को एक मात्र धनगढी विमानस्थलको कुरा बेग्लै छ । पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी’ नभए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उक्त गन्तव्यका लागि उड्दैनन्, जहाजहरु । त्यसको मुख्य कारण हो, भीएफआर (भिजुअल फ्लाइट रुट)मै उक्त विमानस्थल सीमित रहनु । त्यो भनेको पाइलटले ककपिटबाट देखिने दृष्यका आधारमा मात्र उडानरअवतरण गर्नु हो ।
उक्त विमानस्थलका एक कर्मचारीका अनुसार पाँच किमिभन्दा कम भिजिबिलिटी हुनासाथ पाइलटहरु धनगढी विमानस्थलका लागि उड्न तयार हुँदैनन् । यात्रीलाई घण्टौं पर्खाउनु र अन्त्यमा उडान रद्द भएको जानकारी दिँदै फर्काउनुको विकल्प विमानस्थलका कर्मचारीहरुसँग छैन । चार पटक मुलुकको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सोही विमानस्थलमा ओर्लेर गृहजिल्ला डडेलधुरा ओहोरदोहोर गर्छन् । कांग्रेस नेताहरु एनपी साउद र रमेश लेखक मात्र होइन, एमाले उपाध्यक्ष भीम रावल, माओवादी नेता लेखराज भट्टका लागि पनि गृहजिल्ला ओहोरदोहोर गर्ने माध्यम सोही विमानस्थल हो ।
उनीहरु त मानक मात्र हुन्, प्रदेश–७ का सबैजसो नेता र सामाजिक अभियन्ताहरुका लागि काठमाडौं आउजाउ गर्ने हवाई मार्गको एक मात्र विकल्प हो, यो विमानस्थल । तर, यसले अझै इन्स्ट्रुमेन्टल फ्लाइट रुट (आईएफआर)को स्तरोन्नती पाउन सकेको छैन । त्यो भनेको मेसिनको सहायतामा उडानरअवतरण हुनु हो । काठमाडौंपछि मुलुककै दोस्रो लामो धावनमार्ग रहेको विमानस्थल हो यो । जसको धावनमार्ग १८ सय मिटर लामो छ । अहिले बुद्ध एयरका एटीआर–४२ र ७२, नेपाल वायु सेवा निगमको एमए–६० तथा सौर्य र श्री एयरलाइन्सका बर्बार्डियर जहाजले उक्त विमानस्थलबाट उडान भर्दै आएका छन् । यात्री चाप भएकै कारण एयरलाइन्सहरुले ठूला जहाज उडाउँदै आएका छन्, त्यहाँका लागि ।
तर, सामान्य कुहिरो र बादलमा पनि उडान रद्द गर्नुको विकल्प रहँदैन, एयरलाइन्सहरु सामु । धनगढी विमानस्थललाई पनि आईएफआर प्रविधिमा लैजाने चर्चा चलेको लामै समय बित्यो । त्यो भनेको भीएचएफ ओम्नी डाइरेक्सनल रेडियो रेन्ज (भीओआर) र डिस्ट्यान्स मिजरिङ एक्युपमेन्ट (डीएमई) उपकरण जडान हो । दुवै उपकरण जडानको विषय चर्चामै सीमित छ, धनगढीमा । बिहानै घाम चर्किए मात्र काठमाडौं–धनगढी–काठमाडौं उडान शुरु हुन्छन् । घाम डुब्नासाथ र सामान्य कुहिरोले ढाकेमात्र पनि उडान रद्द गर्नुको विकल्प रहँदैन । विमानस्थलबाट पाँच किमि टाढाको जंगल नदेखिए नागरिक उड्डयन कार्यालयले उडान र अवतरणको अनुमति दिँदैन । अझ, धावनमार्गमा आवश्यक बत्तिको समेत व्यवस्था नहुँदा जोखिमपूर्ण उडान र अवतरण हुँदै आएको छ । जबकी, २०० किलोमिटर टाढाको नेपालगन्ज विमानस्थलबाट रात्रि उडानसमेत हुने गर्छ ।
धनगढीमा उडान रद्द भए महँगो भाडा तिरेर नेपालगन्जको उडान समात्न दौडिनु या रात्री बसको यात्रा रोज्नुको विकल्प रहँदैन । उपकरणबाट हुने उडान र अवतरणमा मेसिनले दिएको संकेत ‘फलो’ गर्दै पाइलटहरुले जहाजलाई धावनमार्गमा बसाउने या उडाउने गर्छन् । एयर ट्राफिक कन्ट्रोलरले उपकरणको सहायताबाट दिने सूचनाअनुसार उचाइ मापन हुन्छ, जहाजहरुको । अन्य जहाजका गतिविधि पनि उपकरणकै सहायताबाट थाहा पाउन सकिन्छ । नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुधीरकुमार श्रेष्ठ भने धनगढीमा पनि भीओआररडीएमई उपकरण जडानको प्रक्रिया शुरु भएको दाबी गर्छन् । झापाको चन्द्रगढी विमानस्थलमा पनि दुवै उपकरण छैनन् । ‘दुवैमा एकसाथ जडान गर्ने योजना छ,’ श्रेष्ठ भन्छन् । नेपालगन्ज, भैरहवा, सिमरा र विराटनगर विमानस्थलमा यसअघि नै ती उपकरण जडान भइसकेका छन् ।
‘सुन्दर सुदूरपश्चिम’ नाराका साथ व्यवसायीहरुले प्रदेश–७ मा पर्यटन प्रवर्द्धनको प्रयास थाले पनि विमानस्थलमा उडानरअवतरणको अनिश्चितताका कारण सफल हुन सकेको छैन । सरकारले धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने योजना पनि नबनाएको होइन । तर, आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया नै नटुंगिएपछि उक्त सरकारी योजना अगाडि बढ्न सकेको छैन । विमानस्थललाई अत्याधुनिक उपकरणयुक्त बनाउने योजना पनि सोही कारण अवरुद्ध छ । अहिले हाई फ्रिक्वेन्सी (एचएफ), भेरी–हाई फ्रिक्वेन्सी (भीएचएफ), तापक्रम नाप्ने एनिमोमिटरजस्ता साना उपकरण मात्र उपलब्ध छन्, उक्त विमानस्थलमा । मौसमको जानकारी दिने उपकरणसम्म छैन । अत्तरियामा रहेको मौसम सम्बन्धी जानकारी दिने सरकारी कार्यालयसँग विमानस्थलको सम्पर्कसम्म छैन । जग्गा अधिग्रहणको प्रक्रिया पूरा नभइसकेकाले भीओआररडीएमई उपकरण राख्न नसकिएको विमानस्थल प्रमुख छवि ठकुल्ला बताउँछन् । जहाजहरुलाई भिजिबिलिटीको दूरी पनि अन्दाजको भरमा उपलब्ध गराउनुपर्ने अवस्था छ, एयर ट्राफिक कन्ट्रोलरहरुसँग ।
हाल दैनिक पाँच वटा उडान मात्र सञ्चालनमा छन्, जसमार्फत् मासिक करिब आठ हजार यात्रीले सेवा लिइरहेका छन् । आवश्यक उपकरण नहुँदा बिहानको उडान नै मध्यान्हपछि गर्नुपर्ने अवस्था छ । विमानस्थल प्रमुख ठकुल्लाका अनुसार गत वर्ष मंसिर, पुस र माघमा जम्मा १७ दिन मात्र उडान हुन सकेको थियो । २०६३ सालसम्म छोटो र कच्ची धावनमार्ग मात्र उपलब्ध थियो । कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा धावनमार्ग विस्तार र पक्की बनेको हो । स्थानीय व्यवसायीले सरकारलाई नैतिक दबाब सिर्जना गरेपछि मात्र सम्भव भएको थियो, धावनमार्गको स्तरोन्नती पनि । प्रदेश–७ का पहाडी जिल्लाका चार वटा विमानस्थल पक्की हुँदैछन् । यसअघि नै बाजुराको कोल्टी विमानस्थल पक्की भइसकेको छ । ती विमानस्थलमा धनगढीबाट मात्र उडान सम्भव छ । टाढा पर्ने भएकाले काठमाडौंबाट सीधा उडान सञ्चालन हुन सक्दैन । तर, अहिले नै उक्त विमानस्थलमा पार्किङ सुविधा अपुग छ । तीन वटा ठूला जहाज छोटो समयमा अवतरण गरे भने सबैभन्दा पछाडि आएको जहाज उडेपछि मात्र पहिलेका दुई जहाज उड्न सक्छन् । पहाडी गन्तव्यमा उडान भर्ने साना जहाजका लागि ह्यांगरसम्म निर्माण हुन सकेको छैन । –अनलाइन खबरबाट
।