सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २३ जनाको जमानत जोगियो, ८० जनाको जफत


बाँके । बाँकेमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये ८० जनाको जमानत जफत भएको छ । क्षेत्र क्षेत्रमा विजयीसहित २३ जनाको मात्रै जमानत जोगिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा बाँकेमा १०३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
क्षेत्र नम्बर १ मा विजयी माओवादी केन्द्रका महेश्वर गहतराज र निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका माधवराम खत्रीको मात्रै जमानत जोगिएको छ । यसैगरी प्रदेशसभा १ मा विजयी माओवादीका कृष्ण केसी र निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका शरदचन्द्र बर्मा, संघीय समाजवादी फोरमका कसगर खाँ तथा प्रदेश २ मा विजयी एमालेका आरती पौडेल र निकटतम प्रतिष्पर्धी काङ्ग्रेसका नारायण गौडेलमात्रै जमानत जोगाउन सफल भएका छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभा १ र २ मा १० र १० जना उम्मेदवार थिए ।
क्षेत्र नम्बर २ मा विजयी संघीय समाजवादी फोरमका मो इस्तियाक राई, प्रतिष्पर्धी एमालेका पशुपतिदयाल मिश्रा र राप्रपाको ओमप्रकाश आजादको मात्रै जमानत जोगिएको छ । यस क्षेत्रमा १७ जना उम्मेदवार थिए । प्रदेशसभा १ मा १३ र २ मा १५ जना प्रतिस्पर्धी रहेकोमा १ मा विजयी फोरमका विजय यादवसहित, काङ्ग्रेसका निरन्जनसिंह सिँजापति र माओवादी केन्द्रका कामता खटिकको जमानत जोगिएको छ । २ मा विजयी काङ्ग्रेसका सुरेन्द्र हमालसहित फोरमका दुर्गेश गुप्ता र एमालेका विजय गुप्ताको जमानत जोगिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर ३ मा ८ जना उम्मेदवार रहेकोमा विजयी एमालेका नन्दलाल रोका र काङ्ग्रेसका बादशाह कुर्मीको मात्रै जमानत बचेको छ । प्रदेशसभा १ मा ९ जना उम्मेदवार रहेकोमा विजयी माओवादी केन्द्रका आइपी खरेल र काङ्ग्रेसका चन्तराम थारुको जमानत जोगिएको छ । प्रदेशसभा २ मा ११ जना उम्मेदवार रहेकोमा विजयी एमालेका बाबुराम गौतमसहित काङ्ग्रेसका लक्ष्मीनारायण शाह र स्वतन्त्र उम्मेदवार विजय पाठकको मात्रै जमानत जोगिएको छ । सदर मतको १० प्रतिशत मत पाउने उम्मेदवारको जमानत जोगिन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०४:१५