सूचनाको शक्ति - The Power Of Information

        

किशोरी आमाहरुको संख्या बढ्न थालेपछि ज्यान जोखिममा


सुर्खेत । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको भए पनि यो क्रम रोकिएको छैन । बर्सेनि २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ ।
बर्सेनि तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३–७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी छन् । आव ०७२–७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार दुई हजार ८५१ ले प्रसूति सेवा लिएका थिए ।
बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका सूचना अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिए । ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ’, सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘जसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य भएका छन् ।’
त्यसैगरी, गर्भवती जाँच गर्न आउने किशोरीको संख्या पनि उत्तिकै रहेको छ । आव ०७३–७४ मा चारपटक गर्भ जाँच गर्नेको संख्या छ हजार ७५६ रहेकामा चार हजार ७६९ जना २० वर्ष मुनिका रहेका छन् । आव ०७२–७३ मा आठ हजार ५६७ ले पहिलोपटक गर्भ जाँच गराएकामा झण्डै तीन हजार जना २० वर्ष मुनिका रहेका छन् । गर्भवती किशोरी जाँच गर्न कमै आउने गरेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न नआउने कारणले उनीहरुको स्वास्थ्यमा जोखिम हुने श्रेष्ठले बताए । यसले गर्दा किशोरीको प्रसूति अवस्थामा विभिन्न जटिलता आउने गरेको श्रेष्ठको भनाइ थियो । बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०४:०३