सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना


बाँके । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघको गणना सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार १ गतेदेखि बाघको गणना सुरु गर्ने गरी गणना गर्नेहरुका लागि तालिम बिहीबारदेखि सञ्चालन भइरहेको छ ।
उनका अनुसार चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत मंसिर १४ बाटै बाघको गणना सुरु भइसकेको छ । बाँके र बर्दियाको गणना सकिए लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गर्ने विभागको तयारी छ । हरेक २ देखि ४ वर्षको अवधिमा विभागले बाघ गणना गर्ने गरेको छ । यसअघि सन् २०१३ मा भएको बाघको गणनाबाट बर्दियामा ५० र बाँकेमा २ वटा वयस्क बाघ भेटिएको थियो ।

क्यामेरा ट्यापिङ प्रविधिबाट गणना
विभागका अनुसार क्यामेरा ट्यापिङ प्रविधिबाट बाघको गणना गरिनेछ । निकुञ्जभित्रको दुई किलोमिटर लम्बाई र चौडाइको क्षेत्रलाई एउटा ग्रिड मानिनेछ । र, हरेक ग्रिडमा दुई वटा क्यामेरा राखिनेछ । त्यहाँ कुनै पनि वन्यजस्तुको आवतजावत हुँदा क्यामेराले तस्वीर लिन्छ । एक ठाउँमा १५ दिनसम्म क्यामेरा राखेर तस्वीर खिचिन्छ ।
१५ दिनपछि उठाएर अर्को ग्रिडमा ती क्यामेराहरुलाई राखिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ९ सय वटा ग्रिड हुन्छ । त्यसैले एकैपटकमा सबै ग्रिडमा क्यामेरा राख्न सम्भवन नुहुने हुँदा १५ दिनपछि स्थान परिवर्तन गरेर क्यामेरा राख्ने गरिएको हो । एक पटकमा ४८० वटा क्यामेरा २८० ग्रिडमा राख्ने विभागको तयारी छ ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०९:४१