सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा सबै महिला उम्मेदवार पराजित


धनगढी । देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेनन् । प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन ।
चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले चार हजार ८०० भन्दा बढी मतले आदिवासी रानाथारु समुदायका नेकपा एमालेका नेता नारदमुनि रानासँग पराजित हुनुपर्यो । वाम गठबन्धन र नेपाली काँग्रेस दुबैले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार उठाएको कैलाली क्षेत्र नं १ मा दुवै उम्मेदवारलाई टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीले पराजित गरे ।
दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित रेशमलालको जीतलाई अप्रत्यासित मानिएको छ । निर्वाचन क्षेत्र १ मा विजयी चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदनकुमारी शाहले १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरे ।
यसैगरी, विघटित लोकतान्त्रिक फोरम नेपालकी उपाध्यक्ष एवं शैक्षिक क्षेत्रमा चर्चामा रहेकी गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिष्पर्धा गर्दा जमानत सम्म जोगाउन सकिनन् । प्रतिनिधिसभामा यी बाहेक क्षेत्र नं ३ मा राजपा नेपालकी मीना चौधरी र क्षेत्र नं ५ बाट नेमकिपाकी उम्मेदवार नन्दाकुमारी दर्लामी मगरले नगण्य मत मात्रै पाए ।
प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभामा पनि कुनै पनि महिलाले निर्वाचन जित्न सकेनन् । क्षेत्र नं ३ को प्रदेश ‘ख’मा राजपा नेपालकी सीता थारु, क्षेत्र नं २ ‘क’मा नेमकिपाकी लक्ष्मी पुनमगर, ‘ख’मा संघीय समाजवादी फोरम नेपालकी टीका देवी पुनमगर, निर्वाचन क्षेत्र नं ४ को प्रदेश ‘ख’मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र प्रदेश ‘क’बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी पनि पराजित भइन् ।
क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार ईश्वरी न्यौपाने, क्षेत्र नं १ बाट वाम गठवन्धनकी उम्मेदवार गरिमा शाहबाहेक अरु महिला उम्मेदवारले जमानत समेत जोगाउन सकिनन् । यसैगरी, प्रदेशसभामा उम्मेदवार बनेका छजना महिला नेत्रीमध्ये क्षेत्र नं ५ ‘क’बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०६:०९