सूचनाको शक्ति - The Power Of Information

        

देउवालाई संसदीय दलको नेता बन्न निकै कठिन


काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेस दोस्रो दल बन्ने निश्चित भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा १०५ सिट जितेको कांग्रेस यसपटक २३ सिटमा खुम्चिएको छ । प्रत्यक्षमा कम सिट ल्याए पनि समानुपातिकमा ४० भन्दा बढी सिट पाएर कांग्रेस दोस्रो दल भने बन्दैछ । यसपटक पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, नेता गगन थापाले जित हासिल गरे भने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा शेखर कोइरालाले प्रतिनिधिसभा स्थान सुरक्षित गर्न सकेनन् ।
निर्वाचन सकिएलगत्तै पराजय भोगेका नेताहरुले पार्टीले चाँडोभन्दा चाँडो समीक्षा बैठक राख्नुपर्ने र केन्द्रीय समितिको बैठक तुरुन्त डाक्नु पर्नेदेखि विशेष महाधिवेशन राखेर नेतृत्व परिवर्तन गर्नु पर्नेसम्मका मागहरु राखेका छन् । तत्काल पार्टीको नेतृत्व परिवर्तनका विषयमा देउवाले सुनुवाइ गर्ने देखिँदैन । पार्टीको नेतृत्व परिवर्तन नभए पनि संसदीय दलको नेता बन्न निर्वाचित नेताहरुको भर पर्नु आवश्यक देखिन्छ । निर्वा्चितहरुको अनुहार हेर्ने हो भने संसदीय दलको नेता बन्न देउवालाई निकै सकस पर्ने देखिन्छ । किनकी धेरै जसो निर्वाचित अनुहार देउवाका ‘एन्टी’ छन् ।

देउवा पक्षका को–को निर्वाचित ?
यसपटक देउवा पक्षबाट धेरैले टिकट पाएका थिए । यद्यपि निर्वाचनबाट देउवा आफैंसहित सात जनामात्र निर्वाचित भए । निर्वाचित भएकामा ज्ञानेन्द्रबहादुर कार्की, प्रदीप गिरी, मोहन आचार्य, भरतकुमार साह, प्रमोद यादव, देवेन्द्रराज कँडेलमात्र देउवा पक्षका हुन् । गिरि आफैं भने नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ भनी आवाज उठाउने मध्येमा पर्छन् ।
पौडेल पक्षका कोको निर्वाचित ?
वरिष्ठ नेता रामचन्द्र पौडेलले हार व्यहोरे । तर, निर्वाचनमा भने पौडेल पक्षका उम्मेदवारहरु धेरैको जित भयो । पौडेल पक्षमा प्रकाशमान सिंहसहित ११ जना निर्वाचित भएका छन् । महामन्त्री डा शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, देवप्रसाद तिमल्सिना, मोहम्मद अफताव आलम, अभिशेकप्रताप शाह, सञ्जयकुमार गौतम, सीताराम मेहता र डा. नारायण खड्का पौडेल पक्षका हुन् । त्यसैगरी प्रकाशमान सिंह र राजन केसी पनि पौडेल पक्षकै सपोर्टर हुन् । कोइराला पक्ष र प्रकाशमानको लाइनका सबै पौडेलको लाइनमा छन् । प्रत्यक्षमा निर्वाचित अनुहार पौडेल पक्षकै देखिन्छ ।
सिटौला पक्षबाट को–को ?
कृष्णप्रसाद सिटौला पक्षबाट गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरी निर्वाचित भएका छन् । सिटौला आफै भने निर्वाचित हुन सकेनन् । सिटौला पक्षले देउवालाई सहयोग नगरे संसदीय दलमा पौडेल हावी हुने देखिन्छ ।
अनिर्णित सांसद्
यसपटक निर्वाचितमध्ये अमरेशकुमार सिंहलाई ’डबल स्ट्यान्ड’ लिने सांसदका रुपमा चिनिन्छन् । सिंह दुबै पक्षसँग खेल्न सक्ने कांग्रेसका नेताहरु बताउँछन् । यता भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदारको लाइन खुलेको छैन । कोइराला पक्षको पक्षपातपछि बाहिरिएका गच्छदार देउवा नेतृत्वमा रहँदा कांग्रेसमा पुनरागमन गरेकाले देउवाकै लाइनमा जाने देखिन्छ ।
यद्यपि कांग्रेसमा सेकेन्डम्यानको अभाव रहेकोले पौडेलको लाइनमा लागेर नेतृत्व लिनसक्ने सम्भावना पनि रहेको छ । यसरी हेर्दा देउवालाई संसदीय दलको नेता बन्ने बाटो निकै अप्ठेरो देखिन्छ । गच्छदारलाई पौडेल पक्षले आफ्नो पक्षमा समेटेर संसदीय दलको नेता छानेमा देउवा पन्छिने निश्चित देखिन्छ । तर, पार्टी सभापति देउवा भने समानुपातिक नतिजा कुरिरहेका छन् र अधिकांश समानुपातिक सिटमा आफ्नै पक्षकालाई चयन गर्ने तयारीमा छन् ।

देउवा समूह
शेरबहादुर देउवा डडेलधुरा
ज्ञानेन्द्र कार्की सुनसरी ४
मोहन आचार्य रसुवा
भरतकुमार शाह रुपेन्देही ५
प्रमोद यादव रुपेन्देही ४
प्रदीप गिरी सिराहा १
देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम २
पौडेल समूह
शशांक कोइराला नवलपरासी पूर्व १
मीनेन्द्र रिजाल मोरङ २
तेजुलाल चौधरी सप्तरी ४
देवप्रसाद तिमल्सिना रौतहट ४
मोहमद अफताम आलम रौतहट २
अभिशेक प्रताप शाह कपिलवस्तु ३
सञ्जयकुमार गौतम बार्दिया १
सीताराम मेहता सुनसरी २
डा नारायण खड्का उदयपुर १
सिटौला समूह
गगन थापा काठमाडौं ४
भीमसेनदास प्रधान काठमाडौं ६
उमाकान्त चौधरी बारा १
प्रकाशमान समूह
प्रकाशमान सिंह काठमाडौं १
राजन केसी काठमाडौं १०

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०५:५०