सूचनाको शक्ति - The Power Of Information

        

विद्यालयमा हाजिर गर्न नदिएपछि शिक्षक अलपत्र


बझाङ । जिल्ला शिक्षा कार्यालयबाट शिक्षक नरेन्द्रबहादुर दौल्याललाई दौलीचौर माविमा खटाएको पाँच महिना भयो । तर दरबन्दी भएको पाँच महिनामा पनि त्यहाँको विद्यालयले पढाउन नदिएपछि दौल्याल अलपत्र परेका छन् । राहात अनुदान कोटाको निमावि तहको अंग्रेजी शिक्षक रहेका दौल्याललाई शिक्षा कार्यालयले साउनको २५ गते दौलीचौरमा पठाएको थियो ।
दौलीचौर मावि विद्यालय प्रशासनसहित विद्यालय व्यवस्थापन समितिले रिक्त रहेको विद्यालयको निमावि शिक्षक कोटामा स्थानीय व्यक्ति नै भर्ना गर्न पाउनुपर्ने र जिल्लाबाट पठाएको शिक्षकलाई हाजिर गर्न नदिने भनेपछि दौल्याल अलपत्र परेका हुन् । ‘सुर्मा गाउँपालिको दौलीचौर माविमा पढाउन नदिएपछि शिक्षा कार्यालयले मलाई स्थानीय घोगडा निमाविमा पढाउन परिपत्र गर्यो’ शिक्षक नरेन्द्रले भने, ‘त्यहाँ पनि उनीहरुकै समुहबाट हाजिर गर्न नदिएपछि त्यहाँबाट पनि लखेटिनु पर्यो ।’
दुर्गाथली गाउँपालिका घर भएका शिक्षक नरेन्द्रबहादुर दौल्यालले जिल्ला शिक्षाबाट भएको परिपत्रलाई बेवास्था गर्दै विद्यालय व्यवस्थापन समितिबाट आफ्नो अपमान गरेको गुनासो गरे । ‘शिक्षक सिकाईमा म अयोग्य भए अर्को शिक्षक माग गर्नु स्वभाविक हो’ उनले भने, ‘तर रिक्त रहेको दरबन्दीमा जिल्लाले शिक्षक पठाउँदा पनि काम गर्न नदिनु व्यवस्थापन समितिको दादागिरी हो ।’ स्थानीय तह कार्यान्वयन आएपछि शिक्षाकको तलब गाउँपालिकाबाटै वितरण हुने गरेको छ ।
नरेन्द्रको तलब पनि सुर्मा गाउँपालिकाको खातामा गएको हुँदा गाउँपालिकाले पनि आफ्नो तलब अहिलेसम्म नदिएको नरेन्द्रले बताए । जिल्ला शिक्षा कार्यालयले पठाएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिने र रिक्त रहेको दरबन्दीमा विद्यालय व्यवस्थापन समितिको आफ्ना मान्छे राख्ने प्रवृतिका कारण समस्या आएको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले बताए । जिल्ला शिक्षा कार्यालयका अनुसार नरेन्द्र जस्तै अन्य तीन जना शिक्षकहरुको पनि उस्तै अवस्था छ ।
नवादेउ निमावि ग्वानीमा पठाएका शिक्षक बलबहादुर खड्का र तपोवन प्रावि सुनिकोटमा खटाएकी शिक्षिका तुला जोशी पनि शिक्षा कार्यालयले खटाएको विद्यालयमा अध्यापन गर्न जाँदा व्यवस्थापन समितिले हाजिर गर्न नदिएर अलपत्र परेका छन् । पहिलो चौमासिकको तलब खान नपाएका यि तीनै जना शिक्षकहरु अहिले पनि दरबन्दी भएको विद्यालयमा जान खोजे पनि हाजिर गर्न नदिएपछि अन्य विद्यालय पठाई पाऊँ भन्दै जिल्ला शिक्षा कार्यालयमा धाई रहेका छन् ।
‘शिक्षामा धेरै राजनीति छ’ शिक्षिका तुला जोशीले भने, ‘जिल्ला सरकार भन्दा गाउँका विद्यालयका अध्यक्ष ठूला हुन खोज्दछन् । रिक्त रहेका दरबन्दीमा आफ्ना भाई भतिजा बुहारी राख्न खोज्छन् । यसैले यस्तो समस्या भएको हो ।’ आफ्नो दरबन्दी रहेको विद्यालयमा काम गर्न नदिएपछि शिक्षा कार्यालयले शिक्षक नरेन्द्रबहादुर दौल्याललाई सदरमुकाम सेरोफेरोकै सत्वादी उमावि भोपुरमा खटाएको छ । त्यस्तै बलबहादुर खड्कालाई रगुनाथ प्रावि साइलेबगरमा र तुला जोशीलाई जगन्नाथ प्रावि माडुकाट्नेमा खटाएको छ । तीनै जना शिक्षकले हालसम्म पारिश्रमिक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले पटक पटक शिक्षक विद्यार्थी अनुपात दरबन्दी मिलान गर्न खोजे पनि अहिलेसम्म दरबन्दी मिलान गर्न नसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०५:०३