सूचनाको शक्ति - The Power Of Information

        

प्रत्यक्षतर्फको कुन दलको कति प्रतिशत सिट ?


काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले १६५ मध्ये ८० सिटमा जित हात पारेको छ । यद्यपी उसले प्रत्यक्षतर्फ एक्लै बहुमत पुर्याउन सकेन ।
दोश्रो पार्टी भने नेकपा माओवादी केन्द्र भएको छ । उसले ३६ सिटमा जित हात पारेको छ । एमाले र माओवादीले निर्वाचन अघि गठबन्धन गरेका थिए । समग्रमा प्रत्यक्षतर्फ एमालेले ४९ प्रतिशत सिट जितेको छ । माओवादीले २२ प्रतिशत सिटमा जित हात पारेको छ । २०७० को निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस प्रत्यक्षतर्फ तेश्रो बनेको छ ।
उसले २३ सिटमा जित हात पारेको छ । अर्थात् उसले १४ प्रतिशत सिटमा जित हात पारेको हो । राजपाले ११ र संघीय फोरमले १० सिट जितेका छन् । राजपाले ७ र फोरमले ६ प्रतिशत सिट जितेका छन् । अन्य दलले ५ सिट जितेका छन् । अर्थात् २ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य दलभित्र नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् ।
निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ । निर्वाचनमा एमालेले ६० प्रतिशत सिटमा उम्मेद्वारी दिएको थियो भने माओवादीले ४० प्रतिशत सिटमा उम्मेद्वार उठाएको थियो । तर एमालेले प्रत्यक्षमा ६९ प्रतिशत सिट जितेको छ भने माओवादीले ३१ प्रतिशत सिटमा जित हात पारेको छ । १६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का १६८, नेकपा (माओवादी केन्द्र) का ७३, नेपाली कांग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदूर किसान पार्टी १ जना निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा तर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ । माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १०:११