सूचनाको शक्ति - The Power Of Information

        

मलाई अवतरण गराउने जिम्मा राज्यको हो : रेशम चौधरी


थरुहट आन्दोलनको नेतृत्व गर्दै आएका रेशम चौधरी टीकापुर घटनापछि भूमिगत जीवन बिताउँदै आएका छन् । प्रहरीले टिकापुर घटनाको मुख्य अभियुक्त बनाएर चौधरीलाई सर्वा्धिक खोजीको सूचीमा राखेको छ । अञ्चल प्रहरी प्रमुखसहित प्रहरीको हत्यामा उनीमाथि आरोप लागेको छ । घटनापछि टीकापुरमा थारु समुदाय घरबाट बाहिर निस्कन समेत नसक्ने अवस्था बन्यो । थारुका बस्ती बस्तीमा आक्रमण भए । अहिलेको निर्वाचनमा ‘फरार’ रेशम चौधरीको जितको जग त्यही घटनाले खनेको थियो । भूमिगत अवस्थाबाटै उनी भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भए । अत्याधिक मत ल्याउन सफल पनि भए ।
टीकापुर बजारसहितको कैलाली क्षेत्र नम्बर एकबाट चौधरीले ३४ हजार ३४१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनकी मदनकुमारी शाहीले जम्मा १३ हजार ४०६ मत । चौधरी विजयी भए पनि जितको प्रमाणपत्र पाएका छैनन् । निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र उपलब्ध गराएको छैन । उनले पत्नीलाई वारेस तोकेका छन् । वारेस तोकेरै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदीप गिरिजस्ता नेताले जितको प्रमाणपत्र बुझिसके । यिनै सन्दर्भमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिव समेत रहेका रेशम चौधरीसँग पत्रकार बीपी शाहले गरेको कुराकानीको अंश :
यतिधेरै मतान्तरले तपाईँले चुनाव जित्नुको कारण के हो ?
मलाई जिताउन थारु र पहाडी दुवै समुदायको भूमिका छ । मलाई दुवै समुदायले मत दिएका कारण मतअन्तर यति ठूलो भएको हो । यस क्षेत्रमा थारु समुदायले नेतृत्व खोज्दै थियो भने पहाडी समुदायले सद्भाव खोज्दै थियो । जसकारण दुवै समुदायले मन परेर मलाई जिताए ।
तपाईँमाथि आतंककारीको आरोप लगाएर तपाईँको घर सम्पति पनि जलाए । तर भोट कसरी दिए ?
समग्र पहाडी समुदायले मलाई आतंककारी भनेको होइन । भन्दा पनि भन्दैन । त्यस समुदायभित्रका केही व्यक्तिले भने भनेकै हुन् । तोडफोड र आगजनीमा उत्रेका पनि हुन् । त्यसकारण म व्यक्तिको पछाडि लाग्दिन । केही व्यक्तिले क्षति गरेका हुन् । यसमा सम्पूर्ण समुदायलाई नै दोषी मान्नु र सोच्नु पनि गलत हो ।
जे भने पनि थारु जातिकै भोटले तपाईँलाई जिताएको त हो नि ?
मलाई थारु समुदायबाट अत्याधिक मत आएको सत्य हो । थारु बाहुल्य गाउँहरुबाट शतप्रतिशत मत आएको छ । केही स्थानमा त गैर थारु पोलिङ एजेण्टहरुले पनि मलाई नै मत दिएका छन् । मलाई मुख्य रुपमा जिताउने थारु नै हुन् तर पहाडी मत पनि राम्रो परेको छ ।
चुनाव जित्नुभयो, प्रमाणपत्र समेत पाउनु भएको छैन । तपाईँको संसदमा अवतरण कसरी होला ?
मैले प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरिसकेपछि म नेपालको माननीय भएँ । मलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने जिम्मेवारी अब नेपाल सरकारको हो । मैले नियम कानुन मान्दै आएको छु । निर्वाचन पनि नेपालकै कानुअनुसार लडेँ र जित पनि कानुनअनुसार नै हासिल गरेको हो ।
तपाईँ कहिले बाहिर निस्कनुहुन्छ अनि समातौला भनेर प्रहरी परिचालन भएको छ त ?
प्रहरीले खोजेको मलाई थाहा छैन । मैले पनि समाजिक सञ्जालबाटै यो कुरा थाहा पाएको हो ।
यतिधेरै मतान्तरले जित हासिल गर्नुभयो । जितको प्रमाणपत्र दिन रोक्नुपर्ने कारण के हो त त्यसोभए ?
निर्वाचन कार्यालयले प्रमाणपत्रको बखेडा खोजेर मलाई दबाउन खोजेको छ । त्यो निर्वाचन कार्यालयको आनाकानी हो । म प्राविधिक कारणले त्यहाँ पुग्न सकेको छैन । मैले वारेसनामा दिएर श्रीमतीलाई पठाएको छु । तर, पनि प्रमाणपत्र दिइएको छैन । अरु नेताहरुलाई वारेसमार्फत् प्रमाणपत्र दिने तर मलाई हेपेको जस्तो लाग्यो । निर्वाचन कार्यालयले मतगणनामा पनि हाम्रो पक्षलाई दबाउने प्रयास गरेको थियो । हाम्रो करिब ५ हजार मतलाई बदर गराइएको छ । झिनो मतान्तर भएको भए मलाई निश्चिय नै हराइने थियो । तर, मतान्तरको पहाड देखेपछि कसैको केही चलेन ।
तपाईँले चुनाव जित्नुभयो । तर धेरै ठाउँमा थारु नेताहरु पछि नै परे । मधेश–थरुहट आन्दोलनको गति अब के होला ?
मधेश थरुहट आन्दोलन तीब्र रुपमा अगाडि बढ्नेछ । थारुहरुबाट त्यसबेला प्रतिनिधित्व थिएन । भएको पनि काम लाग्ने खालका थिएन । अब म आफैँ सदनमा हुनेछु । सदनमा जोडतोडले आवाज उठाउँनेछु । म मधेश थरुहटकै लागि लड्ने हो शिर झुकाएर मन्त्री बन्ने खालको मानिस होइन । अरु थारु नेता र ममा धेरै फरक छ ।
त्यसो भए अब आन्दोलन कस्तो होला त ?
अब आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । सदन र सडक संघर्ष गर्नुपर्छ । टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुको पनि सुरक्षित अवतरण गराउनुपर्छ । त्यो जिम्मेवारी मसहित मेरो पार्टीको हो । त्यसतर्फ पनि मेरो ध्यान जानेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०८:५०