सूचनाको शक्ति - The Power Of Information

        

देउवा र गच्छेदारको ‘डबल ह्याट्रिक’


आकाश क्षेत्री/काठमाडौं । राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन । त्यो परीक्षामा कहित्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसकै नेता विजयकुमार गच्छदार । २०४८ यताका ६ वटै निर्वाचनमा विजय हासिल गरेर यी दुई नेताले ‘डबल ह्याट्रिक’ गरेका छन् ।
बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन–२०४८ यता २०५१, ०५६ को निर्वाचनका साथै संविधानसभा निर्वाचन–२०६४ र २०७०मा विजय हासिल गरेका कांग्रेसका अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर ‘डबल ह्याट्रिक’ गर्ने अवसरबाट बञ्चित भए ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेर ‘डबल ह्याट्रिक’ गरे । यस्तै अवसर गच्छेदारले पनि पाएका छन् । तर, देउवा ६ पटक नै नेपाली कांग्रेसबाट निर्वा्चित भएका हुन् भने गच्छेदारले २०६० मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम लोकतान्त्रिक) बाट चुनाव जितेका थिए ।
देउवाले ६ वटै चुनाव आफ्नो गृहजिल्ला डडेलधुराबाट जितेका हुन् भने गच्छेदारले २०४८ मा सुनसरी–२ बाट जितेका थिए । ७ हजार ७७५ मत ल्याएर गच्छेदारले जित्दा उनले अहिलेजस्तै महिला प्रतिद्वन्द्वी पाएका थिए, एमालेकी लीला श्रेष्ठ सुब्बा । सुब्बाले १५ हजार ८८५ मत ल्याएक थिइन् । २०५१ को चुनावमा त्यसै क्षेत्रबाट २१ हजार ९६३ मत ल्याएर विजेता बनेका गच्छेदारका निकटतम प्रतिद्वन्द्वी एमालेका कुलदीप पेशकर थिए ।
पेशकरले १० हजार ७ सय ८ मत पाएका थिए । २०५६ मा पनि त्यसैक्षेत्रबाट उम्मेदवार बनेर विजय हासिल गर्दा २७ हजार ५२७ मत ल्याएका गच्छेदारका निकटतम प्रतिद्वन्दी एमालेका रेवतीरमण भण्डारीले २३ हजार ३३९ मत पाए । पहिलो संविधान सभा चुनावताका कांग्रेस छाडेर फोरम प्रवेश गरेका गच्छेदारले सुनसरी–३ बाट प्रतिस्पर्धा गरे । त्यो चुनावमा उनी २३ हजार ७६९ मतका साथ विजयी भए ।
कांग्रेसका अगमलाल चौधरी १० हजार ८०६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने । यो निर्वाचनमा गच्छेदारले मोर–७ मा पनि कांग्रेसका शेखर कोइरालालाई पराजित गरी विजय हासिल गरेका थिए । २०७० को निर्वाचनमा चाहिँ उनी आफै नेतृत्वको फोरम लोकतान्त्रिक) को उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । अहिलेजस्तै त्यो निर्वाचनपनि गच्छदारका लागि निकै प्रतिस्पर्धापूर्ण रह्यो । ३ सय ६१ मतलेमात्र एमाले उम्मेदवार चौधरीलाई पराजित गरेका गच्छेदारले १७ हजार ५२४ मत पाउँदा चौधरीले १७ हजार १६२ मत पाएकी थिइन् । २०६४ र २०७० को चुनावमा क्रमशः कञ्चनपुर–४ र कैलाली–६ बाट विजय हासिल गरेका प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेलधुराबाट डबल ह्याट्रिक गरेका हुन् ।
यो निर्वाचनमा देउवाले २७ हजार ४४ मतका साथ विजयी भए । देउवाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ११५ मतमात्र पाए । २०७० र २०६४ को चुनावमा पनि देउवाले माओवादीका भट्टलाई नै पराजित गरेका थिए । २०७० मा २३ हजार ९२० मतका साथ देउवा विजयी हुँदा भट्टले १२ हजार ४९३ मत पाएका थिए । २०७० मा देउवा २० हजार ५२९ मतका साथ विजयी हुँदा भट्ट नै १९ हजार १६१ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।
२०६४ यतामात्र होइन, गृहजिल्ला डडेलधुरामा देउवाले २०४८ यतादेखि नै विजय हासिल गर्दै आएका छन् । सँधै एउटामात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा २०४८ को आम निर्वाचनमा देउवा २४ हजार ५ सय ७० मतका साथ विजयी भएका थिए । देउवाका निकटतम प्रतिद्वन्द्वी एमालेका गोबिन्द्रप्रसाद कलौनी थिए, जसले ६ हजार ६२८ मत पाए । २०५१ को निर्वाचनमा पनि देउवाले बाजी मारे । उनी २० हजार ७०१ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी खेमराज भट्ट ‘मायालु’ ले ९ हजार ९६६ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।
मायालु त्यो निर्वाचनमा रामराजाप्रसाद सिंहको नेपाल जनवादी मोर्चाका उम्मेदवार बनेका थिए । र, उनलाई एमालेले समर्थन गरेको थियो । २०५६ को निर्वाचनमा पनि डडेलधुराबाट विजय हासिल गर्दा उनले पहिलो ह्याट्रिक पुरा गरेका थिए । त्यो बेला देउवा निकै ठूलो मतान्तरका साथ विजयी भए । २८ हजार ६५१ मतका साथ पहिलो ह्याट्रिक पुरा गरेका देउवाका निकटतम प्रतिद्वन्द्वी एमालेका बागेश्वरीदत्त चटौत थिए । चटौत ७ हजार ४८० मतका साथ देउवाका निकटतम प्रतिद्वन्द्वी थिए । ‘डबल ह्याट्रिक’ को अवसर नेमकिपाका नारायणमान बिजुक्छेलाई पनि मिल्दो हो, यदि उनी यो निर्वाचनमा उम्मेदवार बनेको भए ।
किनभने, उनले उम्मेदवार दिँदै आएको भक्तपुर–१ मा पनि यसपटक नेमकिपाले नै जितेको छ । त्यसैले भक्तपुर–१ बाट नेमकिपाले मात्र ह्याट्रिक गरेको छ, बिजुक्छे चाहिँ चुनावी मामिलाबाट अलग भएका छन् । ‘डबल ह्याट्रिक’ को अबसरको अवसरबाट चाहिँ कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चुकेका छन् । तनहुँ–१ बाट पराजित भएका उनी दुई संविधान सभा निर्वाचन र त्यसअघिका तीनवटै प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । २०४८ मा तनहु–१ बाट विजयी उनले २०५१ र ०५६ मा तनहुँ–२ बाट विजय हासिल गरी ह्याट्रिक पुरा गरेका थिए । संयोगबस, यतिबेला प्रधानमन्त्री देउवा छन् भने गच्छेदार उपप्रधानमन्त्री । र, दुबैलाई ‘डबल ह्याट्रिक’ को अवसर जुरेको छ । पौडेल भने ‘सिङ्गल ह्याट्रिक’ मा सिमित हुन पुगेका छन् । –नेपालखबरबाट

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०७:१९