सूचनाको शक्ति - The Power Of Information

        

‘जाडो छल्न हमी अउल झर्या हो’


बाँके । ‘चुनाउँ सक्यो, हमीले हम्रा मोख्या छान्यौं,’ मुगु डोल्फु गाउँका मनवीर शाहीले, भने, ‘हमीले छान्याका मोख्याले हिउँ छल्दैनन्, जाडो छल्न हमी अउल झर्या हो ।’ जाडो मौसम सुरु भएपछि मध्यपश्चिमका हिमाली जिल्लाहरुबाट जाडो छल्नका लागि बेसी झर्नेहरुको संख्या बढिरहेको छ ।
जाडो महिना सुरु भएसंगै हिउ पर्ने क्रम पनि सुरु हुने भएपछि मुगु, डोल्पा, हुम्ला, जुम्ला लगायतका जिल्लाका नागरिकहरु जाडो छल्नकै लागि बाँके, बर्दिया, सुर्खेततिर झर्न थालेका छन् । मुगु जिल्लाको डोल्फु गाउँका नागरिकहरु हरेक बर्ष ६ महिना बेसी र ६ महिना गाँउमा बस्ने गर्दछन् ।
हिमाली जिल्लाका उच्चक्षेत्रमा रहेका गाउँहरुमा बसोबास गर्ने नागरिकहरु जाडो छल्न बेसीतिर झर्न थालेपछि गाँउवस्ती सुनसान हुन थालेका छन् । विगतको तुलनामा यसबर्ष बेसी झर्न केही ढिलाई भएको हो । डोल्फु गाउँकै राजमान विक भन्छन्, ‘हमीलाई चुनाउँले ढिलो गरायो, मोख्या त छान्नै पर्यो, भोट हाल्न्या भनेर हमी ढिलो अउल झर्या हौं ।’
मुगाली मतदाताले यस पटकको चुनावमा नेपाली काँग्रेसका हस्तबहादुर मल्ललाई जिताएर संसदमा पठाएका छन् । ‘हमीले मल्ल राजालाई काठमाडौं पठाया छौँ,’ राजमानले भने, ‘हम्रो जिल्लाको विकास उनैले गन्र्या हुन् जसो लाग्यो, हमीले पनि उनैलाई भोट दिई काठमाडौं पठायाछौँ ।’ कात्तिक महिनामै बेसी झर्ने मुगालीहरु चुनावले गर्दा मंसीर महिनामा बेसी झरिरहेका छन् ।
उच्च क्षेत्रका नागरिकहरु जाडो छल्न देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्न झर्ने गरेको पाइन्छ । मुख्यगरी यिनीहरु परिवारसहित रुकुम, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत र काठमाडौँसम्म झर्ने गर्दछन् । पूरै गाँउ नै बेसी झर्ने भएकाले हिमाली जिल्लामा रहेका सिमा प्रहरी चौकीका प्रहरीहरु पनि जाडो महिनामा जिल्ला सदरमुकाममा केन्द्रीत हुन्छन् । प्रहरी मात्र नभई स्वास्थ्य चौकी, विद्यालय, भन्सार लगायतका कार्यालय पनि बन्द हुने गर्छन् ।
चैत महिनाबाट बेसीमा गर्मी सुरु भएपछि जाडोयाममा बेसी झरेका नागरिकहरु चैतको सुरुवातीतिर घर फर्किन सुरु गर्छन् । हिमाली जिल्लाका ग्रामीण गाउँहरुबा बालबच्चासहित परिवारै बेसी झर्न क्रम सुरु भएसंगै सिंगो गाँउहरु खाली हुँदै गएको डोल्फुका नरभान विकले बताए । हिमाली जिल्लाका नागरिकहरु जाडो कटाउन र थाती रहेका कामहरु भ्याउने गरेर थातथलो छाडेर बेसीतिर झर्ने गर्छन् ।
हिउँदे चिसोमा गाउँमा काम गर्न नसकिने र तराई झर्दा उपचार, आवश्यक मालसामानको किनमेलसमेत हुने भएकाले हिँड्न थालेको नरभानले बताए । दुई हजारदेखि ७ हजारसम्मको उचाइमा पर्ने मध्यपश्चिमका हिमाली जिल्लाहरुमा कात्तिकदेखि नै चिसो बढ्दै जान्छ । हिमाली जिल्लाहरुमा चिसोसँगै हिमपात सुरु भएकाले त्यहाँका नागरिकहरु तातो खोज्दै बेसीतिर झरिरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०७:०४