सूचनाको शक्ति - The Power Of Information

        

नवनिर्वाचित सांसद गाउँगाउँमा, मतदाता सोध्छन्, ‘पार्टी एकता कहिले ?’


जाजरकोट । जिल्लाबाट नवनिर्वा्चित सांसदहरु यतिबेला गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । गाउँमा स्थानीयका माग, सल्लाह र सुझाव लिन गाउँगाउँ घुमिरहेको उनको भनाइ छ । आज पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभाकै आयोजना गरिएको छ ।
मंगलबार सदरमुकाम लगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । जनतालाई धन्यवाद दिन गएका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन् । सांसदलाई भेटेर ज्ञापनपत्र बुझाएर यहाँका महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन् । स्थानीयबासीले चुनावको बेला उठाएका एजेन्डा नभुल्नसमेत आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०६:०६