सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशमा मुख्यमन्त्रीको दौड सुरु, प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा माओवादीको पनि दावी


काठमाडौं । निर्वाचन परिणाम आइसकेपछि प्रदेशको मुख्यमन्त्रीको दौड सुरु भएको छ । यौ दौडमा वाम गठबन्धनका एमाले र माओवादीबीच नै प्रतिस्पर्धा सुरु भएको छ । यो प्रतिस्पर्धा प्रदेश नम्बर ५ मा बढी छ । प्रदेश नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति वाम गठबन्धनबीच भएको थियो । तर अहिले माओवादीका दुई जना नेताले यो पदमा दावी गरेका छन् ।
माओवादी सचिवालय सदस्यद्वय कुलबहादुर केसी ‘सोनाम’ र कृष्णध्वज खड्काले मुख्यमन्त्रीमा दावी गरेका छन् । केसी रुकुम क्षेत्रनम्बर १ को (क) बाट र खड्का प्युठान (ख) बाट प्रदेशसभामा निर्वाचित भएका छन् । केसी र खड्का अहिलेसम्म सार्वजनिक लाभको पदमा पुगेका छैनन् ।

को हुन् सोनाम ?
सोनाम माओवादी माओवादीको चुनवाङ बैठकबाट बनेको ३३ सदस्यीय केन्द्रीय समितिको एक सदस्य हुन् । ३३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरुमध्ये सार्वजनिक लाभको पदमा नपुगेका उनी एकमात्र माओवादी नेता हुन् । युद्धकालमा काठमाडौं उपत्यकाको इञ्चार्जको भूमिका समेत निर्वाह गरेका केसीकी श्रीमती तारा घर्ती ०६४ को संविधानसभामा समानुपातिक सांसद भए पनि उनी लाभको पदमा छैनन् । ग्रामिण वर्ग संघर्षको बेलादेखि नै सक्रिय केसीका पाँचै भाइ जनयुद्धमा होलटाइमर भएका थिए ।
माओवादी बिभाजन भएपछि मोहन वैद्यतिर लागेका उनी बादल समूहसँगै पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए । सुरुमा केसीलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउने भनेर नै माओवादीले प्रदेशको उम्मेदवार बनाएको थियो । तर पछि शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सर्तमा कृष्णबहादुर महरालाई दाङ क्षेत्र नम्बर २ छाडियो । निर्वाचन अघिसम्म मौन बसेका उनी निर्वाचनलगत्तै खुलेरै मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । ‘माओवादी आधार इलाकाभित्र एमालेलाई मुख्यमन्त्री पद दिन सकिँदैन,’ केसीले भने ।

को हुन् कृष्णध्वज ?
एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णध्वज खड्का समकालीन हुन् । शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा खड्का पनि अखिल क्रान्तिकारीको अध्यक्ष थिए । एमाले नेता पोखरेल सञ्चारमन्त्री बनिसके पनि खड्का हालसम्म लाभको पदमा पुगेका छैनन् । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय खड्का हाल माओवादीको केन्द्रीय सचिवालयको जिम्मेवारीमा छन् । माओवादी जनयुद्धको क्रममा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले खड्काको टाउकोको मूल्य समेत तोकेको थियो ।
जनयुद्धकालमा काठमाडौंबाट पक्राउ पर्दा श्रीमती रेखा शर्मा र उनले सेनाका व्यारेकहरुमा कठोर यातना खेपेका थिए । युद्धकालमा सरकारसँग सम्पर्क गरी शान्ति वार्ताको वातावरण मिलाउने जिम्मा खड्कालाई नै दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवा र तत्कालीन राजा ज्ञानेन्द्रको सम्पर्क सुत्रसँग छलफल गरी वार्ताको वातावरण बनाउने गर्दथे उनी । जनयुद्धमा कार्यकर्ता परिचालनमा नेतृत्वदायी भूमिका खेलेका उनले अहिले प्रदेश ५ को मुख्यमन्त्री आफूलाई बनाउन पार्टीमा लबिङ थालेका छन् ।
खड्काले भने, ‘यदि मैले जिम्मेवारी पाएँ भने पछि हटैन तर कसलाई मुख्यमन्त्री बनाउने भन्ने कुरा वाम गठबन्धनले निर्णय गर्छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच प्रदेश ५ मा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो । यही सहमतिअनुसार दाङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभामा माओवादी नेता कृष्णबहादुर महरालाई छाडेर पोखरेल प्रदेशसभामा क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार बने र निर्वाचित पनि भए ।

शंकर पोखरेल भन्छन्, मेरो टुंगो लागिसक्यो
केसी र खड्काभन्दा पोखरेल मुख्यमन्त्रीको बलियो दावेदार हुन् । राष्ट्रिय राजनीतिमा फरक छबि बनाइसकेका उनलाई एमाले र माओवादी दुबै पार्टीका शीर्ष नेताहरुको समर्थन छ । त्यसैले पोखरेल मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘यस विषयमा कुनै समस्या नै छैन । सातवटै प्रदेशमध्ये यो मात्रै यस्तो प्रदेश हो जसको मुख्यमन्त्री चुनाव अघि नै टुंगो लागिसक्यो ।’ माओवादीका आधार इलाका भनिएका रुकुम, रोल्पा, प्युठान, दाङका माओवादी उम्मेदवारहरुले दाङलाई प्रदेशको राजधानी बनाउने भनेर भोट मागेका थिए ।
देशको राजधानी दाङलाई बनाउने भए दाङकै नेता पोखरेललाई मुख्यमन्त्री बनाउँदा जति सहज हुन्छ त्यति सहज अरुलाई हुँदैन । यो कुरा राम्रोसँग बुझेका माओवादी नेता कृष्णबहादुर महरा भन्छन्, ‘म प्रतिनिधिसभा र शंकर पोखरेल जी प्रदेशसभामा निर्वाचित भइसकेपछि दाङ राजधानी बन्ने सम्भावना ९९ प्रतिशत छ ।’ सरकारले पनि पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई नै तोकेको छ भने बिजौरीस्थित नेपाल सँस्कृत विश्वविद्यालयको भवनलाई प्रदेश संसदको रुपमा छनोट गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०५:१२