सूचनाको शक्ति - The Power Of Information

        

वामगठबन्धनको जितमा बेइजिङमा हर्ष, दिल्लीमा विस्मात !


काठमाडौं । नेपालको निर्वाचन परिणामबारे दिल्ली र बेइजिङका मिडियाले विश्लेषण सुरु गरेका छन् र, प्रारम्भीक विश्लेषणमा वामगठबन्धनको जितमा बेइजिङमा खुसी र दिल्लीमा चिन्ता देखिन थालेको छ । भारतको खासगरी विदेश मामिलामा संस्थापन निकट मानिने हिन्दुस्तान टाइम्स अंग्रेजी दैनिकले वमगठबन्धनको जितसँगै नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने तयारी भएको र अबका पाँच वर्ष चीनको प्रभाव बढ्ने उल्लेख गरेको छ ।
‘नेपालको निर्वाचन परिणामले भारतलाई असहज बनाएको छ, दिल्लीसँग राम्रो सम्बन्ध नभएका चीन निकट मानिने केपी ओली प्रधानमन्त्री बन्ने संभावना छ र त्यसो भएमा नेपालको भूरणनीतिमा परिवर्तन आउनसक्ने देखिन्छ’, पत्रिकाले मंगलबार लेखेको सम्पादकीयमा भनिएको छ, ‘अब भारतले चाहे पनि नचाहे पनि नेपालको राजनीतिक बेइजिङले ठूलो भूमिका खेल्नेछ, दिल्लीले नेपालको नयाँ सरकारका चिन्ताहरूलाई सम्बोधन गर्ने इच्छा देखाउनु पर्छ ।’
‘भारतले चीनको प्रभावलाई सन्तुलित गर्न नेपालको नयाँ सरकारसँग काम गर्नुपर्छ’ शीर्षकको हिन्दुस्तान टाइम्सको सम्पादकीयमा ‘तर नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको देखाउनु हुँदैन’ भन्ने सुझाव पनि सरकारलाई दिइएको छ । चीनको एउटा लोकप्रिय अनलाइल पत्रिका गुवानछा डटकमले नेपालमा संविधान अन्तर्गत भएको पहिलो निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र एमाले–माओवादी वामगठबन्धनले मंगलबारसम्म अत्याधिक बहुमत ल्याउने उल्लेख गरेको छ ।


मंगलबार दिउँसोसम्म प्रतिनिधिसभाका १६५ सिटमध्ये वामगठबन्धनले १०९ सिट जितेको र कांग्रेस चाहिँ २१ सिटमै रोकिएको विवरण तालिकासहित दिएको छ । नेपालको संविधानअनुसार प्रत्यक्ष निर्वाचति १६५ र समानुपातिक ११० गरी २७५ सिटमध्ये सामान्य बहुमत १३८ सिट ल्याउँदा सरकार बनाउन सक्ने भन्दै पत्रिकाले वामगठबन्धन त्यो भन्दा निकै माथि रहेको जनाएको छ । विगत ११ वर्षमा नेपालमा १० जना प्रधानमन्त्री भएको सन्दर्भ उल्लेख गर्दै पत्रिकाले यो निर्वाचनपछि धेरै मानिसमा राजनीतिक स्थिरताको आशा बढेर गएको जनाएको छ ।
पत्रिकाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विजयी भएको तस्बिर पनि दिएको छ । ‘अबको सरकारले जनताप्रति इमान्दार भएर काम गर्नेछ र अर्को ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चलाउन सक्नेछन्’, पत्रिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उद्धृत गर्दै भनेको छ ।
चीनको अनलाइन पत्रिकाले भारतीय मिडियाले चिनियाँ पक्षधर भनेर आरोप लगएका केपी ओली फेरि प्रधानमन्त्री बन्ने क्रममा रहेको पनि जनाएको छ । ‘नेपालका प्रधानमन्त्रीको प्रो चाइना कलरबारे भारत जहिले पनि चिन्तित रहँदै आएको छ’, पत्रिकाले लेखेको छ । मंगलबार साँझसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै परिणाम आउने छ र त्यसपछि संभवत दिल्ली र बेइजिङले औपचारिक प्रतिक्रिया पनि दिनेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०५:०३