राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी विजयी उम्मेदवार बिना मगर प्रदेश नं ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बिना मात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भएकी हुन् ।
उनले ३८ हजार ४६८ मत ल्याएकी हुन् भने प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याए । यो १९ हजार २४९ मतको फरक हो । ७ नम्बर प्रदेशबाट प्रदेशसभा सदस्यमा भने बझाङ १ को प्रदेश ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल (थापा) विजयी भए पनि प्रतिनिधिसभामा बिना नै एक्ली महिला बनिन् । विजयी भएपछि प्रतिक्रया दिँदै बिनाले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन् ।
‘निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ,’ उनले भनिन्, ‘यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।’ स्थानीय तह, प्रदेश र केन्द्र गरी तीन वटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको बताउँदै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने प्रतिबद्धता जनाइन् । बिना २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी हुन् ।
पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा सुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गरिन् । राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर उनी तत्कालीन उनी नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र आन्दोलनमा सुरुदेखि नै सक्रिय रुपमा लागिन् । सुरुवाती चरणमा उनी सांगठनिक र सांस्कृतिक कार्यक्रममा निकै सक्रिय बनिन् । २०५६ मा बिनाले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको समेत भूमिका निर्वाह गरिन् । राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उनी यसपछि काठमाडौँ प्रस्थान गरिन् ।
काठमाडौँमा उनलाई राजधानीको वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो । काठमाडौँ र जन्मभूमि पुनर्वास लगायत आसपासका क्षेत्रको विकासको अवस्था तुलना गर्दा राज्यले गरेको विभेद उनले प्रत्यक्ष देख्न पाइन् । गाउँगाउँमा विकास र्पुयाउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई अगाडि बढाइरहिन् । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्री रूपमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनी सक्रिय भइन् ।
विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई २०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त भयो । राज्यको धरपकड र दमनबीच २०६० मा उनी तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेकी थिइन् । ’मानव वधशाला’ भनेर चिनिएको सेनाको भैरवनाथ गणमा २७ महिना उनलाई बेपत्ता बनाइएको थियो । ’हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुबाउने, पाइपले पिट्ने लगायतका अमानवीय यातना दिइने गरिन्थ्यो,’ उनले भनिन् । २०६२/६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि अदालतले गैरन्यायिक हिरासतबाट बिनलाई रिहा गर्न आदेश दिएको थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् । संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला बिनाले यस निर्वाचनमा विजयी भएर लिएकी छन् । प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा नै अहिले विजय प्राप्त भएकोमा उनी गर्व गर्छिन् । यसरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छिन् । रासस
।