मुगु । मंगलबार बिहानैदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । विहानैदेखि हिमपात सुरु भए पछि वातावरण निकै चिसो बन्दा जनजिवन कष्टकर बनेको छ । हिउँदमा जति बढी हिमपात हुन्छ त्यति नै हिउँदेबाली उत्पादनमा वृद्धि हुने हुँदा कृषकहरू भने उत्साहित बनेका छन् । जिल्लाका पुर्वी करान क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चिताई, किम्री, सेरोग, दाउरा लगायतका सबै बस्तीहरूमा बिहानै देखि हिमपात भइरहेको छ ।
जिल्लाका रुगा, रोवा, रारा, खमाले, सेरी, काटडाँडा, धैनकोट, कालै, सोरुकोट, फोतु लगायतका उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएको छ । सदरमुकाम गमगढी आसपासको उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ भने बेसी तिर पानी परिरहेको छ । हिमपात र वर्षाका कारण चिसो अध्याधिक बढे पछि विद्यालय समेत बन्द गरिएका छन् । यो हिउँदमा वर्षा र हिमपात समयमा नै सुरु भएकाले कृषकले खेतबारीमा लगाएको जौ, गहुँको उत्पादन राम्रो हुन सक्ने छायाँनाथ रारा नगरपालिका १३ का स्थानीयवासी गोरलाल बोहोराले बताए ।
यता मुगुम कार्मारोङ गाउँपालिका२ मुगु गाउँका स्थानीयवासी जाडो बढेसंगै बेसी सर्न थालेका छन । हरेक वर्ष कार्तिकको अन्त्य तिर जाडो छल्न तातो स्थान तर्फ बसाई सर्ने र चैत्रको अन्त्य तिर मात्रै गाउँ फर्किने स्थानीवासी यो पटक भने ढिलो गरी बसाई सरेका हुन् । मंसिर दश गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका कारण चुनावमा भोट हालिसके पछि अधिकांश स्थानीयहरू चिसो छल्न बेसी झरेको मुगु गाउँका स्थानीयवासी छोर्तेन लामाले जानकारी दिए ।
स्थानीयवासीहरू गाउँ देखि सिरानीचौर, पिप्लेडी, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौँसम्म हरेक हिउँदमा जाडो छल्न जाने गरेको उनले बताए । स्थानीयवासी जाडो छल्न बेसी झरे पछि सीमा सुरक्षामा बसेको सीमा प्रहरी चौकी मुगुका प्रहरी पनि सदरमुकाम फर्किएका छन् । गाउँका स्थानीयवासी जाडो छल्न वेसी झरेका तथा गाउँमा कोही पनि नभएकाले सीमा सुरक्षाका लागि खटिएको प्रहरीलाई फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए । स्थानीयवासी गाउँ नफर्कदाँसम्म प्रहरी पनि सीमामा नजाने र स्थानीय गाउँ फर्केपछि मात्र प्रहरी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
।