माया केसी/रुपन्देही । रुपन्देहीमा महिलाले सञ्चालन गरेका सहकारी वचत गर्ने र ऋण लिनेमा मात्रै सिमित छैनन् । धेरै दिदी बहिनीहरुलाई रोजगारतर्फ आकर्षण गरेका छन् । यसले गर्दा पहिलेपहिले ज्याला मजदुरी गर्नेहरु अहिले आफैले व्यवसाय गर्न थालेमा छन् । महिला सहकारीहरुले विभिन्न छलफल र तालिम तथा गोष्ठीहरुबाट दिदीबहिनीहरुलाई सचेत बनाएका छन् । मक्रहरको प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था यसको उदाहरण हो । यसले वचत र श्रृणको कारोबारसँगै सामाजिक रुपमा महिलाका समस्याहरुलाई सुल्झाउने खालका काम गरेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न खालका तालिमहरुको आयोजना गर्ने काम गरिरहेको अध्यक्ष राधा थापाले बताइन् । थापाका अनुसार संस्थामा रहेका २ हजार ५३१ सदस्यमध्ये करिब एक हजार जनाले सहकारीमार्फत पैसा लिएर विभिन्न आयमूलक काम गरी आर्थिक अवस्था सुधार गरेका छन् । कोही आधुनिक तरकारी, मासुजन्य पशुपालन गरेका छन् । कोहीले विभिन्न प्रकारका पसलहरु सञ्चालन गरेका छन् । उत्कृष्ठ कामकै कारण सहकारीले नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ ।
उत्कृष्ट सहकारी भएकै कारण सुचना तथा सञ्चार मन्त्रालयको सहयोगमा ५ वटा कम्प्युटर, सोलार, फोटोकपी मेसिन लगायतका सामाग्री प्राप्त गरेको छ । यसैको सहयोगमा २० जनालाई आधारभूत कम्प्युटर तालिम समेत प्रदान गरेको छ । नवदुर्गा बहुउदेशीय सहकारी संस्था चिहियाले पनि किशोरी विकास कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि महिला तथा बालबालिका कार्यालयले अनुदान र विभिन्न प्रकारका तालिम दिने गरेको छ । सहकारीमार्फत धेरै महिला र किशोरीहरुको जीवनमा सकरात्मक परिवर्तन आएको छ । उनीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । यसले गर्दा समाजमा घरेलु हिंसा समेत कम भएको छ ।
दयानगरमा रहेको शान्ति दिप वचत तथा ऋण सहकारी संस्थाले पनि महिलाको आर्यआर्जन वृद्घि गर्नका लागि बत्ती कात्ने, धुप बनाउने बेच्ने लगायतका आयमुखी काम गरेको छ । गोदावरी महिला वचत तथा ऋण सहकारी संस्था झारगैरामा पनि टपरी बुन्ने काम गरेको छ । साना किसान कृषि सहकारी संस्था लि करहियामा अहिले सम्म महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न तालिमहरु दिने गरेको छ । संस्थाका अध्यक्ष झुपा न्यौपाने संस्थाले अहिले सम्म तरकारी तालिम, सिलाईकटाई तालिम र ब्यूटी पार्लरको तालिम लिएर धेरै महिला दिदीबहिनीहरु स्वरोजगार भएको बताईन । यो सहकारीले पनि विभिन्न प्रकारका कामहरु गर्ने गरेको छ ।
महिला तथा बालबालिका कार्यालय रुपन्देहीमा अहिलेसम्म २६ वटा सहकारी संस्था दर्ता छन् । कार्यालय प्रमुख शारदा बस्यालका अनुसार सहकारी मार्फत धेरै महिला र किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन आएको छ । आत्मनिर्भरताका कारण उनीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । उनीहरुको वचत र ऋृणको काम पनि सबैको सन्तोष जनक रहेको प्रमुख बस्यालको भनाई छ । बस्याल भन्छिन्, ‘सहकारीमार्फत श्रृण लिने र कृषिजन्य बस्तु पालन गर्ने तरकारी खेती गरे पनि महिला दिदी बहिनीहरुले परिवार राम्ररी धान्नुभएको छ ।’
त्यतिमात्र होइन पछिल्लो समयमा दिदी बहिनीहरु चुरा बनाउने तालिम, कुसन, झोला लगायतका सानामहरु उत्पादन गर्ने र स्थानीय बजारमा विक्री गरेर राम्रो आम्दानी गर्नेको पनि कमी छैन । सहकारीमा बचत गर्ने पैसा आफैले आम्दानी गर्न सक्षम छन् । रुपन्देही जिल्लामा ६१ वटा महिला सहकारी संस्था दर्ता भएका छन् । यी सहकारी संस्थाहरुले मासिक १० रुपैयादेखि २ हजारसम्म वचत संकलन गर्ने गरेको तथ्याङ्क डिभिजन सहकारी कार्यालयमा रहेको छ ।
महिलाहरुले सञ्चालन गरेका सहकारीहरुले उदाहरणीय काम गरेको डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले बताए । पुरुषहरुले सञ्चालन गरेका भन्दा महिलाले सञ्चालन गरेका सहकारी तुलनामा राम्रा भएको उनले बताए । ‘महिलाहरुले ईमान्दारीताका साथ काम गर्ने हुनाले पनि राम्रा भएका हुन्, तर कतिपय ठाँउमा काम गर्ने तरिका नजानेर पनि उनीहरुले उत्कृष्ट काम गर्न सकेका छैनन्,’ उनले भने ।
अब पुरुष सहभागी सबै सहकारी संस्थाहरुले पनि महिलाहरुलाई मुख्य भुमिका दिएर अगाडि बढाउनु पर्नेे प्रमुख घिमिरेले बताए । त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपािलकाभित्र रहेका धेरै सहकारीमध्ये महिलाले सञ्चालन गरेका सहकारीमार्फत धेरै महिला दिदी बहिनीहरुको जीवन आर्थिक रुपमा सबल बनेको छ । यसरी सबै महिलाहरुले आर्थिक परिर्वतनलाई जोड दिन सक्ने हो भने समाजमा महिला माथि हुने हिंसा पनि कम हुन सक्छ ।
।