सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकमा ३ दलले मात्र कटाए ३ प्रतिशत, विवेकशील साझा र राप्रपा संकटमा


काठमाडौं । प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म साढे २८ लाख मतगणना हुँदा नेकपा एमालेले साढे १० लाख मत पाएको छ । नेपाली कांग्रेसले ९ लाख ७४ हजार मत पाएको छ । एमालेसँग गठबन्धन गरेको नेकपा माओवादीको भने ४ लाख ३० हजार मत कटाउको । यी ३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकमा कुनै सिट पाउने छैनन् । चौथो स्थानमा रहेका संघीय समाजवादी फोरमले ७४ हजार मत ल्याएको छ । फोरम अहिलेसम्म गनिएका मतको आधारमा ३ प्रतिशतको नजिकै पुगेको छ । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालल ४८ हजार मत ल्याउँदै सातौँ स्थानमा छ । फोरम र राजपाको प्रभाव रहेका क्षेत्रमा समानुपातिकतर्फको मत गणनाको अन्तिम विवरण आइसकेको छैन ।

विवेकशील साझा र राप्रपा संकटमा
पाँचौँ स्थानमा रहेको विवेकशील साझा पार्टीले ५९ हजार र छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ५५ हजार मत ल्याएका छन् । विवेकशिलले पाएको मत २ प्रतिशतभन्दा केहि बढी हो भने राप्रपाको २ प्रतिशत भन्दा कम हो । यी दुई दलले ३ प्रतिशत पु¥याएर संसदमा सिट सुरक्षित गर्न अब गन्न बाँकी रहेका ठाउँमा बढी अनुपातमा मत पाउनु पर्ने हुन्छ ।
यी दुई दलको कुनै खास प्रभाव क्षेत्र नभए पनि काठमाडौंबाट धेरै मत ल्याउने अपेक्षा छ । तर काठमाडौंको समानुपातिकको मतगणना आधा सकिँदा दुई दलले अपेक्षा अनुसार मत पाउन सकेका छैनन् । २०७० सालको चुनावमा राप्रपाले समानुपातिकमा काठमाडौंमा राम्रो मत पाएको थियो । एक भोट दाइलाई एक भोट गाईलाई नारा लागेको २०७० सालको चुनावमा राप्रपा साढे ६ प्रतिशत मत पाएर समानुपातिकमा २४ सिट हात पार्न सफल भएको थियो ।
तर यो पटक अहिलेसम्म आएको विवरणलाई विश्लेषण गर्दा राप्रपालाई ३ प्रतिशत मत पु¥याउन हम्मे हम्मे पर्ने देखिन्छ । समानुपातिकमा ३ प्रतिशत मत पु¥याउन नसके झापा ३ बाट विजयी राप्रपाका राजेन्द्र लिङदेनले संसदमा स्वतन्त्र सांसदको हैसियतमा प्रतिनिधित्व गर्नुपर्नेछ । संसदमा राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षमा एकसिट जित्नुपर्ने र समानुपातिकमा ३ प्रतिशत मत कटाउनै पर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार ०५:१७