सूचनाको शक्ति - The Power Of Information

        

टिकापुर घटनापछिको सेन्टिमेन्टको मतले ‘मोस्ट वान्टेड’ रेशमलाई जितायो

नवराज पनेरु/धनगढी । कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका रेशम चौधरी विजयी भएका छन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मदनकुमारी शाहले १३ हजार ६०४ मत पाएकी छन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाइन् ।
यो नतिजाले धेरैलाई अचम्मित बनाएको छ । चौधरीले चुनावअघि आफू ३० हजार मत ल्याएर विजयी हुने दाबीसहितको भिडियो पठाएका थिए, त्यो सत्य भएको छ । कैलाली निर्वाचन क्षेत्र नं. १ मा बढी जनघनत्व टिकापुर क्षेत्रमा छ । २ वर्ष अगाडि भएको टिकापुर घटनापछि मुख्य योजनाकारको आरोपमा फरार रहेका चौधरी टिकापुर क्षेत्रमा पहिलेदेखि चर्चित व्यक्ति हुन् । तर एक नाबालक र ८ प्रहरीको ज्यान जाने गरी भएको टिकापुर घटनाको मुख्य योजनाकारको आरोपी चौधरीले झण्डै २० हजारको मत अन्तरले जित हात पार्लान् भनेर कसैले पनि सोचेका थिएनन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा थारु सेन्टिमेन्टभन्दा पनि टिकापुर घटनाको सेन्टिमेन्टलाई जोडर मतदान भएपछि रेशम चौधरी विजयी भएको विश्लेषण गरिएको छ । वाम गठबन्धनको तर्फबाट रेशम चौधरीका बुवा लालवीर चौधरी पनि यहि निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका थिए । त्यसैगरी प्रदेशसभा ‘क’ बाटै वर्तमान राज्यमन्त्री नेपाली कांग्रेसका जनकराज चौधरी पनि उम्मेदवार बनेका थिए । दुवै जना पराजित भएका छन् । चुनावको प्रचारको क्रममा रेशमले टिकापुरका थारु मतदातालाई अधिकारका लागि लड्दा भएको टिकापुर घटनाका कारण आफू २६ महिनादेखि भारतका विभिन्न ठाँउमा भागेर बस्नुपरेको भिडियो पठाएका थिए ।
हुन त कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा थारु समुदायको बाहुल्यता छ, तर रेशमलाई जिताउन थारु समुदायको मत मात्र काफी थिएन । मिडिया मालिक र व्यवसायीको रुपमा आफ्नो राम्रो छवी बनाएका कारण रेशमले पहाडी समुदायको पनि भोट पाएको अनुमान गरिएको छ । रेशम चौधरीको कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालनमा रहेको थियो । तर टिकापुर घटनापछि एफएम र रिसोर्टमा आक्रोसितहरुले तोडफोड गरेपछि अहिले दुवै बन्द छन् । दरबार हत्याकाण्ड अघिसम्म रेशम चौधरी दरबारका मान्छे थिए । दरबारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन् रेशम । २०६२÷०६३ को आन्दोलन अगाडि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम रेशमले नै गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार ०४:२६