सूचनाको शक्ति - The Power Of Information

        

जनताको विश्वास र भरोसा कमजोर हुन दिन्नौ : भीम रावल


कल्पना बोहरा/अछाम । नेकपा एमालेका उपाध्यक्ष एवं अछाम क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले कम्युनिष्टले जनताको मत, बिधिको शासन र लोकतन्त्रको सस्थागत विकासमा लागि पर्ने बताए । सदरमुकाम मंगलसेनमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताए । बाम वगठबन्धनको विजयसँगै नयाँ बन्ने सरकारले देशको विकास र समृद्धिलाई तिब्र गतिमा अघि बढाउने बताए ।
देशको साझा सवाल र जनताका समस्यालाई समाधान गर्नका लागि जनताले बामपन्थी दललाई आफ्नो अभिमत प्रकट गरेको रावलले बताए । अछामका सबै ६ सिटमा बाम गठबन्धनका उम्मेद्वार विजयी भइसकेपछि भएको विजयी सभालाई सम्बोधन गर्ने क्रममा रावलले प्रधानमन्त्री देउवाप्रति ब्यंग्य गर्दै ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकिएको बताए । अछामका सबै सिट र देशैभरी बाम गठबन्धनका उम्मेद्वार विजयी भएसँगै राष्ट्रिय अखण्डता र एकताका बिरुद्ध बोल्नेहरुका लागि मुखभरीको जवाफ मिलेको उल्लेख गरे ।
बामपन्थीको सरकार बनेपछि जनताका लागि विकास र समृद्धि दिने र सडक, पुल, बिमानिस्थल, जलबिद्युत आयोजना, अस्पताल जस्ता पूर्वाधार बनाएर जनतालाई खुसी दिने भनदै रावलले कसैले पनी रुन नपर्ने बताए । कम्युनिष्टको बिजयले देशको समृद्धि र विकासमा युवा शक्ति र सम्पूर्ण देशवासिलाई परिचालित गर्न समेत सुझाव दिएको रावलको भनाई थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशको विकास, आर्थिक समृद्धि र जनताको खुसीका लागि बिपक्षी दल र पराजित उम्मेद्वारसँग पनि सहकार्य गरि अघि बढ्न तयार रहेको तर संविधानको अधिनमा रहि जनतालाई माया गरेर अघि बढ्न सिक्नुपर्ने बताए ।
विजयी सभामा अछाम २ मा विजयी प्रतिनिधिसभा सदस्य यज्ञ बोगटी, प्रदेशसभा सदस्यमा विजयी माओवादी नेता झपट बोहरा, अक्कल रावल, एमाले नेता हर्कबहादुर कँुवर, बलबहादुर सोडारी, एमाले नेता भीम जनाला, माओवादी नेतृ सरस्वती रावल लगायतले बोलेका थिए । विजयी सभाको अध्यक्षता एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले गरेका थिए भने सञ्चालन माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउदले गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार ०४:१६