सूचनाको शक्ति - The Power Of Information

        

सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्छ : प्रचण्ड


चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।
सरकार गठनका क्रममा भागवण्डामा सदस्या हुनसक्छ कि भन्ने प्रश्नमा उनले भने, ‘भागवण्डा हाम्रो मुख्य एजेण्डा होइन । सम्बृद्धि र स्थायित्व हाम्रो एजेण्डा हो ।’ उनले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताए । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिए ।
पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उनले देउवालाई धन्यवाद दिए । पत्रकारहरुको एक प्रश्नमा उनले संविधान संशोधन समय क्रममा आवश्यकता आनुसार हुँदै जाने बताए । प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उनले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०७:४६