काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक हेभिवेटहरुको भिडन्त रोचक बन्यो । कतिपय हेभिवेटले हार व्यहोरे । यसमध्येमा पनि ठूला तीन पार्टीका ‘सेकेन्डम्यान’ले जित हासिल गर्न सकेनन् । जुन हारमा हरेकले चासो लिएका छन् । पार्टीमा मात्र नभई जनतामाझसमेत लोकप्रिय रहेका यी सेकेन्ड म्यानहरु किन पन्छाइए त ?
कांग्रेस वरिष्ठ नेता पौडेल पाखामा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा ‘भावी प्रधानमन्त्री’का रुपमा प्रस्तुत भएका थिए । प्रधानमन्त्री बन्नका लागि १७ पटक मैदानमा उत्रेका नेताका रुपमा चर्चित पौडेलको एउटै चाहना प्रधानमन्त्री बन्ने रहेको त्यही बेलादेखिको उनको प्रयासले दर्शाउँथ्यो । तनहुँलाई प्रधानमन्त्रीको जिल्ला बनाउने आकांक्षाकासाथ चुनावी मैदानमा उत्रेका पौडेल पार्टीको वागडोर सम्हाल्ने इच्छा पनि दबाएरै बसेका थिए । बेलाबेला पार्टी सभापति शेरबहादुर देउवालाई घुक्र्याउँथे । पार्टीका अन्य नेताहरु पनि पौडेललाई एकपटक ‘चान्स’ दिनुपर्ने पक्षमा थिए ।
प्रधानमन्त्री बन्न निर्वाचन जित्नु आवश्यक थियो । तर, पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएसँगै पाँच वर्षसम्म उनको यो सपना थाती रहने भयो । निर्वाचनमा पराजित भएसँगै पार्टीमा पनि ‘प्वाइन्ट’ घट्यो । यसले पार्टीमा बागडोर सम्हाल्ने ‘माइनस’ भइदियो । २०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतले पराजित गरेकाले अबका दिनमा पौडेलले पार्टीमा आफ्नो मतलाई जोडदारका साथ प्रस्तुत गर्न सक्ने छैनन् । उम्मेदवारी दर्ताकै दिन गोविन्दराज जोशी तगारोका रुपमा प्रस्तुत भएका थिए उनीविरुद्ध । वैधानिक रुपमा जोशी कमजोर रहेकाले त्यतिबेला पौडेलविरुद्ध आइपरेको अनिष्ट टरेको थियो । तर, पनि पौडेलले आफूलाई पार लगाउन पाएनन् । पाखामै परे ।
पार्टी सभापतिका लागि किचकिच गरिरहने र भावी दिनमा प्रधानमन्त्रीमै पनि दाबी गर्न सक्ने सम्भावना देखेपछि पार्टीको माथिल्लो निकाय नै उनलाई हराउन लागेको कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ । पौडेल पाखा लागेसँगै पार्टीमा देउवाको वर्चश्व बढ्ने देखिन्छ । पौडेलको घुर्कीलाई अब वेवास्ता गर्न चुनावमा हारेका नेता भनेर पन्छिन देउवालाई गतिलो हतियार बनेको छ । यता नेपाली कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि पराजित भएका छन् । १३ औं महाधिवेशनमा सभापतिका दाबेदार रहेका सिटौला राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग १३ हजार ४४३ मतान्तरले हारे ।
समानुपातिक सूचीमा नाम अटाइसकेका सिटौलालाई लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनाव लड्ने घोषणा गरिसकेका लिङ्देनसँग चुनावी मैदानमा लडाए । उनी निर्वाचनमा लड्दा पार्टीमा पनि उठ्न गाह्रै हुने गरी लडे । पार्टीमा अब उनको प्रभाव कमजोर हुने देखिन्छ । यसपटक आफ्नो पक्षको भनिएका धेरैले न त प्रत्यक्षमा टिकट पाए न त समानुपातिक सूचीमा नै । समानुपातिकमा अटाएका आफैं पनि प्रत्यक्षमा भिडेर चोट खाए । पौडेल र सिटौलाको हारले पार्टी सभापति शेरबहादुर देउवालाई बढार्नुपर्ने कसिङ्गर हावाले उडाएजस्तो भएको छ । आगामी दिनमा पार्टीमा नेतृत्व गर्छु भनेर अघि आउने नेता नभएकाले देउवालाई हाइसन्चो हुने पक्का भएको छ ।
ओलीले आफ्नो हाइटमा आउनबाट रोके बामदेवलाई
बामदेव गौतम एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र उमेरलाई ख्याल गर्दै अब पार्टीमा उनको खाँचो रहेको धेरै नेताले चर्चा चलाउन थालेका थिए । एमाले वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालले पार्टीको नेतृत्व गरिसके। प्रधानमन्त्री पनि भइसके । अध्यक्ष ओली पनि प्रधानमन्त्री भइसकेका छन् । यस्तो अवस्थामा कम्युनिस्टहरु एक हुनुपर्छ भन्दै वामपन्थी गठबन्धन गराउन सक्रिय भएका बामदेव वामपन्थीको बहुमत आउँदा प्रधानमन्त्रीका बलिया दाबेदार हुने थिए । तर, निर्वाचनमा उनी सञ्चार राज्यमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए । बार्दिया १ मा चुनावी मैदानमा रहेका बामदेवलाई ७५० मतले पछि पार्दै सञ्जय विजयी भएका हुन् । यसपटकको वाम गठबन्धनको वातावरण बामदेवकै नेतृत्वमा तयार भएको थियो । उनी सुत्रधार बनेकै कारण अरु पार्टीका नेता दशैंको टीका थाप्दै गर्दा ‘सरप्राइज’ रुपमा वाम गठबन्धन भयो ।
वाम गठबन्धनका नेताहरुको जित चूनौतीकै रुपमा लिइरहेको बेला निर्वाचन परिणाम वाम गठबन्धनकै पक्षमा आयो । हारको सूचीमा सुचिकृत रहेका कतिपय एमाले उम्मेदवार जित्दै गर्दा बामदेव आफैं भने बर्दियाबाट हारले शिर झुकाएर काठमाडौं फर्कनुपर्यो । बामदेव विजयी भएका भए यसपटक सरकारमा मात्र हैन पार्टीकै नेतृत्वमा आउन सक्थे । प्रधानमन्त्री जो पनि हुनसक्ने एमाले र माओवादी शीर्ष नेताको अनुमानकै कारण वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्दै गर्दा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई प्रस्तुत गरेको थिएन । एमालेका सेकेन्ड म्यान कसरी साइड लगाईए त ? पार्टीमै गम्भीर समीक्षा गरिनुपर्ने विषय भएको एमालेका नेताहरुले बताउन थालेका छन् । एमाले अध्यक्ष ओलीको नेक टु नेक आइपुगेका गौतमलाई कमान्डर हुनबाट रोक्न पार्टी हाइकमान्डले नै उनको जित रोकेको विश्लेषण धुम्बराहीदेखि पेरिसडाँडासम्म चल्न थालिसकेको छ ।
धोबिघाट बैठकको बदला नारायणकाजीसँग
गोरखा २ मा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेपछि कुराकानी गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले श्रेष्ठलाई पार्टीले बलीको बोको बनाएको बताएका थिए । धोबिघाट बैठकमा बाबुराम र मोहन वैद्यसँग नजिकिएका नारायणकाजीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ झस्केका थिए । उक्त बैठकलाई धोबिघाट काण्डका रुपमा चिनिदैं आएको छ । माओवादीमा पद बाँडफाँट नभएपछि तीनै नेताले प्रचण्डको पद खोस्ने धम्की दिएका थिए। त्यसपछि डराएका प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए । यता बाबुराम प्रचण्डको काखमा पसेपछि मोहन वैद्यले विप्लवलगायतका नेता आफ्नो साथमा लगेर ड्यास माओवादी गठन गरे ।
उक्त बैठकमा धम्की दिने तीन मध्ये दुई नेता प्रचण्डको किचेनबाट आउट भइसकेका छन् । दोस्रो संविधानसभा सकिनै लाग्दा बाबुराम पेरिसडाँडा छाडेर बबरमहल पुगे र नयाँ शक्ति खोलेर राजनीतिको नयाँ अध्याय सुरु गरे। अब बाँकी रहे नारायणकाजी । पछिल्लोपटक माओवादीमा ‘सेकेन्ड म्यान’का रुपमा हेरिएका उनै नारायणकाजी गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुरामविरुद्ध उठाएर माओवादी अध्यक्ष प्रचण्डले धोबिघाट बैठकको बदला लिएको हुनसक्ने माओवादीकै कार्यकर्ताहरु दाबी गर्छन् ।
।