सूचनाको शक्ति - The Power Of Information

        

वाम गठबन्धनका सुत्रधार बामदेव हारे, वाम एकता के होला ?


बर्दिया । वाम गठबन्धनका प्रमुख सुत्रधारको रुपमा रहनुभएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाको क्षेत्र नम्वर १ बाट हार ब्यर्होर्नु परेको छ । देशैभरीबाट वाम गठबन्धनले जितिरहँदा बामगठबन्धनमा मुख्य भुमिका खेल्नु भएका गौतमले भने पराजय ब्यर्होर्नु परेको हो ।
वाम गठबन्धनका सुत्रधार समेत मानिनु भएका बामदेव गौतमको पराजयपछि अहिले धेरै शंका उपशंका उब्जिएको छ । बर्दियाका चोक चौतारा चिया पसलमा बामदेवको हारकै विषयमा चर्चा छ । केहीले बामदेवको हारले राजनीतिमा इमान्दारिता हुँदैन भन्ने कुरा पनि सिकाएको बताउँछन् ।
वाम गठबन्धनमा माओवादी केन्द्रका कार्यकर्ताले क्षेत्र नम्बर १ मा एमालेका बामदेवलाई मतदान गरी सहयोग नगरेको केहीको आरोप रहेको छ भने केहीको आरोप एमालेका कार्यकर्ताले पनि भोट दिएनन्, बामदेवलाई हराउने योजना केन्द्रबाटै पो हो की ? भन्ने शंका पनि उत्पन्न भएको छ ।
गठबन्धनका बारेमा र मत खसाल्ने तरिकाका बारेमा मतदातालाई वामले भोट हाल्ने तरिका नसिकाउँदा केही मतदाताले भोट दुई ठाउँमा हाल्नुले पनि मत बदर भएको अर्को कारण मानिन्छ । मतदाता शिक्षा टोलीले आलु, प्याज अर्थात उदाहरण्का चिन्ह देखाएर सिकाए, तर पार्टीले सिकाउँदा पनि नसिकाउँदा पनि अधिकांश मतदाता अलमलमा परेर दुई ठाउँमा भोट हाल्दा धेरै मत बदर भएको बताईन्छ ।
बामदेवको हारले कार्यकर्ताहरुमा निरासा त छाएको छ नै वाम गठबन्धनका सुत्रधार मानिनु भएका बामदेव गौतमको पराजयपछि अहिले अर्को शंका पनि उब्जिएको छ । बामदेवको हारपछि अब वाम गठबन्धन कम्युनिष्ट पार्टी एकता घोषणा हुने नहुने आशंका समेत देखिएको स्थानियको भनाई छ ।
यसै विषयमा एमाले बर्दिया अध्यक्ष हरि ज्ञवालीले भन्नुभयो, ‘आफू भित्रैबाट धोका भएको छ, अप्रत्यासित रुपमा हार बेहोर्नु परेको छ, अब आज हामी बस्छौँ, अनि समीक्षा गरेर मात्रै केही भन्नेछु’ बताए ।
२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जित्नुभएका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेपछि उनको क्षेत्रका नागरिक रुष्ट भएका थिए । यसपटक पनि गौतमले प्यूठानबाट उठ्ने बताए । तर वाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उनी बर्दियाबाट चुनाव लडेका हुन । स्थानीय तहको निर्वाचनमा झण्डै ३० हजार मतले अघि रहेको उनको राम्रो पकड मानिएको बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं बहालवाला सिञ्चाईमन्त्री सञ्जयकुमार गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका छन् । गौतम ७५३ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी एमाले उपाध्यक्षसमेत रहेका बामदेव गौतमलाई पछि पार्दै विजयी भएका हुन् । बामदेवले ४४ हजार ७६ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०३:५८