७५० मतान्तरले बर्दियामा वाम गठबन्धनका सुत्राधार बामदेव गौतम पराजित, काँग्रेसका गौतमले गरे ह्याट्रिक
।
बर्दिया । बर्दिया प्रतिनिधिसभा क्षेत्र १ बाट उम्मेदवारी दिएका वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम झिनो मतान्तरले पराजित भएका छन् ।
कांग्रेसका उम्मेदवारसमेत रहेका मन्त्री सञ्जय गौतमले उनलाई पराजित गरेका हुन् । एमाले उपाध्यक्ष गौतमले ४४ हजार ०७६ मत ल्याएका छन् भने काँग्रेस उम्मेद्वार गौतमले ४४ हजार ८२६ मत ल्याएका छन् । एमाले उपाध्यक्ष गौतम ७५० मतान्तरले पराजित भएका हुन् ।
गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले ३ हजार मतले बामदेवलाई पछाडि पारेका थिए । बढैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव बाँसगढी नगरपालिकामा निकै कम मत पाएपछि उनी पछाडि परेका थिए ।
बराबर्दिया नगरपालिकामा उनले लिड गर्ने विश्वास वाम गठबन्धनले गरेको थियो । तर त्यो पनि अपेक्षाकृत हुन सकेन । दुई गौतमबीच जित हार झिनो मतले हुने अनुमान गरिए पनि अन्तत काँग्रेस उम्मेद्वार गौतमले जित हात पारेका हुन् । यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट ३ पटक जितेका र २ पटक हारेका वामदेवले २०७० को निर्वाचन पनि बर्दियाबाट जितेका थिए ।
तर प्युठानबाट समेत जितेका उनले बर्दिया १ छोडेपछि बर्दियाली जनताहरु आक्रोसित भएका थिए । वामदेवले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएका थिए । उनले बबई सिँचाइ योजना र भेरि डाईभर्सन योजनालाई निर्वाचन प्रचारमा अगाडि सारेका थिए । तर उक्त विकास योजनाले भने बर्दियाका जनतालाई छोएन ।
।