चितवन । चार हजार भन्दा बढि मतान्तरले अघि रहेपनि चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझै फराकिलो अन्तर लिन सकेका छैनन् । राप्रपा प्रजातान्त्रिकको पकड रहेको मेघौलीमा बिक्रम पाण्डेले प्रतिस्पर्धी मत ल्याएका कारण प्रचण्डको मतान्तर सन्तोषजनक ढंगले बढ्न नसकेको हो ।
यसमध्ये मेघौलीको जानकी मावि, सरस्वती माविका मतदान केन्द्रको मतगणना भएको छ । पाण्डेको पकड रहेको यस क्षेत्रका मतपेटिका रमाइलोडाँडा–‘क’, ‘ख’ र ‘ग’ का मतपेटिकासँगै मिलाएर गणना गरिएको थियो । पाण्डेको पकड क्षेत्रका मतपेटिकाका कारण प्रचण्डको खासै अग्रता बढ्न सकेन ।
यसमध्ये जानकी मावि र रमाईलो डाँडा ‘क’ को संयुक्त मतगणनामा प्रचण्डले जम्मा ३९ मतले अग्रता लिन सके। त्यो गणनामा पाण्डेले ६ सय १ मत पाउँदा प्रचण्डले ६ सय ४० मत पाएका छन्। सरस्वती मावि र रमाइलोडाँडा ‘ख’ को मतपेटिका मेघौलीकै सरस्वती मावि मतदान केन्द्रको पेटिकासँग संयुक्त रुपमा गणना गर्दा पनि प्रचण्डले झिनो मतान्तरमात्र पाए । यी दुई मतदान केन्द्रको गणना गरिँदा प्रचण्डको पक्षमा ६ सय ३८ मत खस्यो भने पाण्डेले ५ सय ५७ मत पाए ।
यसैगरी रमाइलोडाँडा ‘ग’ र मेघौलीको सरस्वती माविकै अर्को केन्द्रको संयुक्त मतगणनामा चाहिँ प्रचण्डले एक सय भन्दा बढि मतको अन्तर लिए । त्यहाँको गणनामा पाण्डेले ५ सय २५ मतमात्र पाउँदा प्रचण्डले भने ६ सय ५८ मत पाएका छन् । अहिलेसम्मको गणना परिणाम अनुसार पाण्डे भन्दा प्रचण्ड ४ हजार ३ सय १३ मतले मात्र अगाडि छन् । प्रचण्डले १३ हजार ३ सय ८७ मत पाएका छन् भने पाण्डेले ९ हजार ७३ मतका साथ प्रचण्डलाई पछ्याइरहेका छन् ।
।