सूचनाको शक्ति - The Power Of Information

        

प्यूठानमा मोहनबिक्रम पत्नी दुर्गाले वामगठबन्धनको मतान्तर कायम राख्न सकिनन्

प्यूठान । स्थानीय तह निर्वाचनमा वामगठबन्धन ३५ हजार मतान्तरले अघि रहेपनि प्यूठानमा वामगठबन्धनकी उम्मेदवार दुर्गा पौडेललाई यही अनुपातमा मतान्तर लिन हम्मे परेको छ । जिल्लाका दुबै प्रदेशमा वामगठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी हुँदा कांग्रेस उम्मेदवार गोबिन्दराज पोखरेल भन्दा पौडेल ५ हजार मतान्तरले मात्र अग्रस्थानमा छिन् ।
पछिल्लो परिणाम अनुसार वामगठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार बनेकी मसालका महामन्त्री मोहनबिक्रम सिंहकी पत्नी पौडेलले २३ हजार ६ सय १७ मत पाएकी छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा पोखरेलले १७ हजार ८ सय ७९ मतका साथ पौडेललाई पछ्याइरहेकी छन् । पौडेलले ५ हजार मतान्तरले अग्रता लिँदा प्यूठान प्रदेश सभाका दुबै सिटमा वामगठबन्धनका उम्मेदवारहरुले फराकिलो अन्तरले विजय हासिल गरेका छन् ।
प्रदेश सभा ‘क’ मा एमालेका हरिप्रसाद रिजालले २४ हजार ७ सय ३४ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकप्रसाद भण्डारीले १२ हजार ६ सय ३९ मत पाएका छन् । प्यूठान ‘ख’ मा पनि वामगठबन्धनको उम्मेदवार बनेका माओवादी केन्द्रका कृष्णध्वज खड्काले १४ हजार मतान्तरका साथ विजय हासिल गरिसकेका छन् । खड्का २७ हजार ९ सय १० मतका साथ विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरप्रसाद भण्डारीले १४ हजार १ सय ६८ मत पाएका छन् ।
यसरी प्रदेश सभामा वामगठबन्धनले २६ हजार मतका साथ विजय हासिल गर्दा पौडेलको मतान्तर भने सोही अनुसार हुन सकेको छैन । कांग्रेस उम्मेदवार डा पोखरेलको व्यक्तित्व पौडेलको फराकिलो मतान्तरका लागि निकै भारी बनिरहेको देखिएको छ । डा पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०८:१५