सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री पत्नी आरजु हार नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत

कैलाली । प्रधानमन्त्री पत्नी आरजु राणालाई काँग्रेसको गढ मानिएकै वडाहरुबाट कम मत आएको छ । बजार क्षेत्रको वडाबाटै आश गरेको भन्दा निक्कै कम मत पाएपछि आरजु हार नजिक पुगेकी छन् । १९ वटा वडा रहेको धनगढीमा १ देखि १३ नम्बर वडालाई कांग्रेसको आफ्नो गढको रुपमा लिदै आएको छ । यी मध्ये ३ र ६ बाहेकका सबै वडामा गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका थिए । तर अहिले बजार क्षेत्रकै वडाबाट आरजुलाई कम मत आएको छ ।
अहिलेसम्मका मत परिणाम अनुसार आरजु भन्दा नारदमुनि राना ३ हजार ३५२ मतले अगाडि छन् । अब गणना गर्न बाँकी ६ हजार मत मात्रै रहेकाले आरजु हार्ने निश्चित जस्तै भएको छ । आफ्नो पक्कड मानिएको क्षेत्रबाटै सोचे जस्तो मत नआएपछि काँग्रेसजनमा अन्तर्घात भएको आरोपप्रत्यारोप चल्न थालेको छ । पर्यटक उम्मेदवारको आरोप लागेपछि मतदातामाझ आफू धनगढीकै भएको सन्देश प्रवाह गर्न आरजुले धनगढीमा ३ करोडको घर किनेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०५:५२