सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा वामको किल्ला, शक्ति बस्नेत भारी मतले विजयी

जाजरकोट । जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो । प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् ।
बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् । त्यस्तै प्रदेश ‘क’मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह ‘खगेन्द्रसेन’ विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे ।
प्रदेश ‘ख’मा वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०८:०४