सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाका ससुराद्वय अर्जुन र जगदीश्वर पराजय उन्मुख

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले काठमाडौं–४ मा दोस्रो पटक जित हासिल गर्दा उनका दुबै ससुराहरु मत गणनामा निरन्तर पछि परिरहेका छन् । गगन आफू काठमाडौं–४ मा तीन हजार भन्दा बढि मतान्तरले विजयी भइसकेका छन् । कांग्रेसका प्रभावशाली नेता रहेका अर्जुननरसिंह केसी नुवाकोट–१ को मतगणनामा सुरुदेखि नै पछि परिरहेका छन् ।
कांग्रेस नेता केसी नाताले कांग्रेस नेता थापाका ससुरा हुन् । थापाले केसीकी छोरी अन्जना केसीसँग बिहे गरेका थिए । पछिल्लो मतगणना परिणाम अनुसार नुवाकोट–१ मा केसीले १२ हजार ९१४ मतका साथ वामगठबन्धनका नारायणप्रसाद खतिवडालाई पछ्याइरहेका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका खतिवडाले १८ हजार ६४ मत पाएका छन् । २०७० को निर्वाचनमा केसीले एमालेका खतिवडालाई नै पराजित गरेका थिए ।
झण्डै ५ हजारको मतान्तरका साथ पछाडि परेका कांग्रेसका प्रभावशाली नेता केसीलाई अब नुवाकोट–१ मा विजयको नतिजा निकाल्न अब कठिन छ । गगनका ससुरा केसीमात्र होइन, केसीका भाई जगदीश्वर नरसिंह केसीपनि निरन्तर पछि परिरहेका छन् । केसी नुवाकोट–२ ‘क’ मा प्रदेश सभाको उम्मेदवार छन्। जहाँ एमालेका केशव पाण्डेले १० हजार ९०४ मत ल्याउँदा केसीले ६ हजार ८९० मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०७:५९