सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा प्रदेश सभातर्फ एक स्थानको अन्तिम मत परिणाम सार्वजनिक, अथक र रोकायको अग्रता कायमै

बाँके । बाँकेमा प्रदेश सभातर्फ एक स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा ३ क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेल १६ हजार ६७५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्तराम थारुले १४ हजार ९८१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ दुई स्थानबाहेक अन्य क्षेत्रमा मतगणना चलिरहेको छ ।
पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथकले ७ हजार ६११ मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई नेपाली कांग्रेसका माधवराम खत्रीले ६,६३० मतका साथ पछ्याइरहेका छन् भने प्रदेश सभा १ ‘क’मा पनि माओवादी केन्द्रकी कृष्णा केसी नमुनाको अग्रता कायमै छ । हालसम्म नमुनाको ९ हजार ३२२ र नेपाली कांग्रेसका शरदचन्द्र बर्माको ६ हजार ८१८ मत रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा संघीय समाजबादी फोरमका मोहम्मद इस्तियाक राई ११ हजार २७८ मतका साथ अग्रस्थानमा छन् भने उनलाई राप्रपाका ओमप्रकाश आजादले ६ हजार ५७४ मतका साथ पछ्याइरहेका छन् । प्रदेश सभा २ ‘क’मा पनि संघीय समाजबादी फोरमका विजय यादवको अग्रता कायमै छ । यादवको अहिलेसम्म ५६९६ मत छ भने कांग्रेसका निरन्जनसिंह सिंजापतिको २ हजार ८४४ मत रहेको छ ।
प्रदेश सभा २ ख मा भने नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमाल ७ हजार ६०४ मतका साथ अघि छन् भने संघीय समाजबादी फोरमका दुर्गेश गुप्ता ६ हजार ६५० मतका साथ दोस्रो स्थानमा छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकाय १२ हजार ९४ मतका साथ पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका बादशाह कुर्मी ९,३३० मतका साथ दोस्रो स्थानमा रहेका छन् । प्रदेश सभा ३ ‘ख’ र १ ‘ख’को अझैं मतगणना शुरु भएको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०७:३७