सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डले पहिलो पटक गरे सूर्यमा मतदान


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक आफैँलाई मतदान गरेका छन्। चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट प्रचण्डले पहिलो पटक सूर्य चिन्हमा पनि मतदान गरेका हुन् । एमालेसँग वाम गठबन्धन गरेपछि प्रचण्डले सूर्यमा मतदान गरेका हुन् । चितवन–३ ‘ख’ मा पर्ने सो क्षेत्रमा प्रदेश सभामा वामगठबन्धनको तर्फबाट एमालेका कृष्ण भुर्तेल उम्मेदवार छन् । प्रचण्डले प्रतिनिधि सभामा आफ्नै लागि हँसिया–हथौडा र प्रदेश सभामा एमाले उम्मेदवार भुर्तेलका लागि सूर्यमा मतदान गरे ।
यसअघि पाँच निर्वाचन क्षेत्र रहेको चितवनलाई यस पटक तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ, यद्यपी प्रचण्डको गाउँ भीमसेननगर चाहिँ यसपटकपनि चितवन–३ मा नै परेको छ । ०६४ र ०७० को निर्वाचनमा यस क्षेत्रमा माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार थिए । भीमसेननगर प्रचण्डको आफ्नो गाउँ हो । २०१९ फागुनमा कास्कीको ढिकुुरपोखरी लेवाडेबाट प्रचण्डको परिवार चितवनको भीमसेननगर बसाईं सरेको थियो । जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि उनले भीमसेननगरबाट नै मतदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०४:४९