सूचनाको शक्ति - The Power Of Information

        

४५ जिल्लामै उत्साहजनक मतदान, ७० प्रतिशत बढी मतदान हुने अपेक्षास् आयोग


काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज ४५ जिल्लामै शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । निर्वाचन आयोग प्रवक्ता नवराज ढकालका अनुसार ४५ जिल्लामै बिहान ७ बजेबाट सुचारु रुपमा मतदान भइरहेको छ । ‘कपिलवस्तुको एक ठाउँमा बम जस्तो देखिने वस्तु भेटिएपछि निस्क्रिय तुल्याइएको छ, सुरक्षा निकायले शान्तिपूर्ण मतदानको व्यवस्था गरेको छ’, बिहान साढे ९ बजे प्रवक्ता ढकालले भने, ‘ढुक्क भएर मतदानमा सहभागी हुन म सबै मतदातालाई आग्रह गर्दछु ।’
आयोगले पहिलो चरणभन्दा बढी प्रतिशत मतदान हुने अपेक्षा गरेको ढकालले बताए । ‘हाम्रो अपेक्षा त शतप्रतिशत मतदान होस् भन्ने हो, तर पहिलो चरणभन्दा आज बढी मत खस्ने अनुमान गरेका छौं’, उनले भने । प्रवक्ता ढकालले मतदाता शिक्षा प्रभावकारी भएको र बदर मतको संख्या निकै कम हुने अपेक्षा गरिएको जनाए । ‘सरकार, अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र सबैले हातमा हात मिलाएपछि निर्वाचन आयोग शान्तिपूर्ण रुपमा समयमै निर्वाचन गर्न सफल भएको हो’, ढकालले थपे । प्रवक्ता ढकालले पहिलो चरणमा मतदान सम्पन्न भएका क्षेत्रको मतगणना आज ५ बजेबाट सुरु हुने र आज मतदान भएका क्षेत्रको पनि केही क्षेत्रको आजै र केही क्षेत्रको भोलीबाट मतगणना सुरु हुने बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०४:४३