सूचनाको शक्ति - The Power Of Information

        

भोट हालेपछि प्रचण्डले भने, समृद्धिको यात्रा सुरु भयो


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ ।
शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए । उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे । प्रचण्ड चितवन क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । भोट हाल्न पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहाल भोट हाल्न मतदान केन्द्रमा गएका थिए । प्रचण्डकी माइली छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०४:३०