प्रत्यक्षतर्फको मतपरिणाम चार दिनमै आइसक्ने निर्वाचन आयोगको दाबी
।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै चरणका निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम चार दिनमै सार्वजनिक हुने दाबी गरेको छ । मतगणना व्यवस्थापनका विषयमा जानकारी गराउँदै आयोगले परिणाम चार दिनमै सार्वजनिक हुने दाबी गरेको हो ।
आयोगका अनुसार प्रत्यक्षतर्फको सबै मतपरिणाम सार्वजनिक भएपछि समानुपातिक तर्फको मतगणना सुरु हुनेछ । दोस्रो चरणको मतदानको समय बिहीबार बेलुका ५ बजे सकिएसँगै पहिलो चरणमा चुनाव भएका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा गणना सुरु गरिने आयोगको भनाइ छ । बिहीबार हुने मतदानको भने मतपेटिका संकलन गरीसकेपछि रातिदेखि गणना थालिनेछ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने पनि जानकारी दिए । सकेसम्म एकैसाथ तीनवटै मतपत्रको गणना गर्ने गरी ब्यवस्था गरिएको तर त्यसो हुन नसके शुरुमा प्रत्यक्षको गणना सक्ने र त्यसपछि समानुपातिकतर्फको गणना शुरु गरिने उनको भनाइ छ ।
।