काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदातालाई समेत मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । मतदान गर्न पाउने मताधिकारको सम्मान गर्दै आयोगले मतदाता नामावलीमा नाम भएका तर विविध कारणले परिचयपत्र प्राप्त गर्न नसकेका मतदातालाई मतदानको व्यवस्था मिलाइएको बताएको छ ।
आयोगले यसअघिका स्थानीय तह निर्वाचन र पहिलो चरणको निर्वाचनमा समेत मतदाता परिचयपत्र नभएका व्यक्तिलाई मतदानको व्यवस्था मिलाउँदै आएको थियो । आयोगको निर्णयपछि मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका, प्राप्त गरे पनि परिचयपत्र हराएका वा नष्ट भएका मतदाता समेत भोलि हुने मतदानमा सहभागी हुन पाउनेछन् । आयोगका अनुसार नागरिकता, अघिल्लो संविधानसभा निर्वाचनमा वितरण गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिमत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको छ ।
स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले जनाएका छन् ।
।