सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनका लागि अछाममा खटिए दुई हजार बढी कर्मचारी र सुरक्षाकर्मी

निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाको टोली

निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाको टोली


कल्पना बोहरा/अछाम । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मीको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीसहित २ हजार बढी कर्मचारी मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट मतदान स्थल निर्माणका कामहरु भइरहेको जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।
दुई वटा निवार्चन क्षेत्र रहेको अछाममा जम्मा १ लाख ३६ हजार ९०३ मतदाता रहेका छन भने १९७ मतदान केन्द्र छन् । अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले केन्द्रीय सुरक्षा रणनीति अनुसार जिल्लामा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त झण्डै २ हजार जना सुरक्षाकर्मीलाई परिचालन गरिएको बताए । निवार्चन क्षेत्र नम्बर १ मा ६८ हजार ५९३ मतदानस्थल छन् । जस अन्तर्गत प्रदेशसभा १ मा ४४ मतदान केन्द्र र ३२ हजार ३९३ मतदाता संख्या रहेको छ ।
त्यसैगरी सोही निवार्चन क्षेत्रको प्रदेश २ मा ५४ मतदानस्थल छन् भने ३६ हजार २०० मतदाता संख्या छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका भीम रावल र नेपाली कांग्रेसका भरत स्वाँर चुनावी मैदानमा छन् । प्रदेशसभा अन्तर्गत १ मा एमालेका हर्क कुँवर वाम गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन भने नेपाली कांग्रेसका मेघराज खड्का मैदानमा छन् ।
प्रदेशसभा २ मा नेपाली कांग्रेसका टेकबहादुर साउद र माओवादी केन्द्रका झपट बोहरा वाम गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नम्बर २ को कुल मतदाता संख्या ६८ हजार ३१० छ भने ९९ मतदान केन्द्र छन् । जसमा प्रदेशसभा १ मा ४८ मतदानस्थल र ३४ हजार ५९ मतदाता छन् । त्यस्तै प्रदेशसभा २ मा ५१ मतदानस्थल छन् भने ३४ हजार २५१ मतदाता छन् ।
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली काँग्रेसका पुष्पबहादुर शाह र एमालेका यज्ञ बोगटी वाम गठबन्धनको तर्फबाट उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका अक्कलबहादुर रावल वाम गठबन्धनको तर्फबाट उम्मेदवार र नेपाली कांग्रेसका सुरतबहादुर विष्ट छन् । प्रदेशसभा २ मा नेपाली कांग्रेसका बलबहादुर कुँवर र एमालेका बलबहादुर कुँवर वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ०५:०८