सूचनाको शक्ति - The Power Of Information

        

दाङ्गमा ४८ घण्टामै सबै मतपरिणाम सार्वजनिक गर्ने तयारी


दाङ । बिहीबार हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । सोमबार मतदान गराउन मतदानस्थलमा कर्मचारी पठाएपछि मुख्य निर्वाचनको कार्यालयले मंगलबारदेखि मतगणना थलको तयारी तीव्र पारेको छ । यसपटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गरिनेछ । विद्यालयमा रहेका तीन अलग–अलग भवनमा मतगणना गरिने भएको छ ।
प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाई लगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभाका ३ वटा र प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ ।
बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसैदिनको रातीबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो । मतगणना सुरु भएको ४८ घण्टा अर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । ‘मतगणना छिटो गर्ने विषय सबै हाम्रो हातमा मात्रै त हुँदैन’, रावलले भने, ‘दलका प्रतिनिधिहरुले साथ दिनुभयो भने दुई दिनभित्रै सबै मतगणना सक्ने हाम्रो तयारी छ ।’

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार १०:४२