सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मतगणना सहज हुने अपेक्षा, ५ दिनमै सक्ने तयारी


बाँके । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतपत्रमा उम्मेदवारको चुनाव चिन्ह कम भएका कारण यसपटक मतगणनामा सहज हुने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जिल्लाका सबै मतदानस्थलमा कर्मचारी पुगेर व्यवस्थापनको काममा लागेका छन् । स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भएको भन्दै यसअघि बाँकेका आमनागरिक आक्रोशित भएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्थानीय तहमा भएको सुस्त मतगणनालाई ख्याल गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले पाँच दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी भएको जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदीले प्रत्यक्ष र समानुपातिकको मतगणना पाँच दिनभित्र सक्ने गरी योजना बनाइएको जानकारी दिए ।
मतगणनास्थलमा मतदाता परिचयपत्र वितरणको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगाएतका ६४ किसिमका चुनावी सामग्री सहित मतदान केन्द्रमा खटिएका छन् । २ लाख ७६ हजार ६१८ मतदाता रहेको बाँकेमा १३६ मतदान केन्द्र र ३२७ मतदान स्थल रहेका छन् । चुनाव सम्पन्न गराउनका लागि करिब २ हजार ६१६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सकेसम्म मतदान सम्पन्न भएकै दिन मंसीर २१ गते राती नै अन्य प्रक्रिया पु¥याएर मत गणनाको सुरुवात गर्ने तयारी गरेको छ । राती १०–११ बजेसम्म मतपेटिका गणनास्थलमा पुर्याउन सकेमा तत्कालै मतगणना सुरु गर्ने र ढिलो गरी मतपेटिका मतगणनास्थलमा पुगेमा भने मंसिर २२ गते बिहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत सुवेदी नेतृत्वको टोलीले मंगलबार बाँकेका केही मतदानस्थलको स्थलगत निरीक्षण गरी मतदानका लागि भइरहेको प्रक्रियाको बारेमा जानकारी लिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार १०:४०