सूचनाको शक्ति - The Power Of Information

        

मतपेटिका जोगाउने चिन्ता, थापियो मुसालाई पासो


रोल्पा । सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ। मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् । मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ ।
ताला झुन्डिएको गेटमा प्रहरीले पहरासमेत दिइरहेका छन् । मंसिर १३ मा जिल्लाका १६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् । मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ,’ श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ । मतपेटिका भन्डारणपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी मुसाबाट यसलाई कसरी जोगाउने भन्ने चिन्तामा थिए । उनको चिन्तापछि पासोको उपाय निकालिएको थियो ।
पासो थापे पनि कोठामा हेर्न नमिल्ने भएकाले मतपेटिका सुरक्षित भए÷नभएको यकिन गर्न सम्भव नभएको कार्यालयले जनाएको छ । लामो समय मतपेटिका जोगाएर राख्न सुरक्षा चुनौती हुने गरेको छ । जिल्लामा एक लाख २७ हजार ६२९ मतदाता रहेकोमा ७० हजार ७७६ मत खसेको छ । बाहिरी सुरक्षा व्यवस्था कडा रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयाल बताउँछन् । उम्मेदवार उठाएका प्रत्येक दलले २४ जनासम्म हेरालु आलोपालो पठाउने गरी मतपेटिका राखिएको परिसरमा प्रवेशाज्ञा लिएका छन् । एक दलबाट दिनमा प्रत्येक दुई घन्टामा दुई जनाका दरले हेरालु पठाइरहेका छन् भने रातको समयमा ६ जनासम्म पठाइरहेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले अलगअलग टेन्ट राखेर हेरालु राखेका छन् । मंसिर २१ को चुनाव सकिएलगतै मतगणना सुरु गर्ने तयारीमा निर्वाचन आयोग छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०९:३८