सूचनाको शक्ति - The Power Of Information

        

जलवायु परिवर्तनको असर : वर्षेनी धान उत्पादन घट्दै


जाजरकोट । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो । विगत पाँच वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । पाँच वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष सात हजार ३७८ मेट्रिक टन मात्र धान फलेको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । पाँचवर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष दुई हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो । विसं २०६९ मा १० हजार मेट्रिक टन, २०७० सालमा तीन हजार ६२ हेक्टर जमिनमा ६ हजार १८० मेट्रिक टन, २०७१ मा तीन हजार ६३ हेक्टरमा ६ हजार १९७ मेट्रिक टन, २०७२ मा तीन हजार ६३ हेक्टरमा ९ हजार ९७१ मेट्रिक टन र २०७३ मा दुई हजार ५६३ हेक्टरमा सात हजार ३९१ मेट्रिक टन धान फलेको थियो ।
‘जलवायु परिवर्तनको असर, धानखेतीमा किसानको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन घट्दै गएको छ,’ घिमिरेले भने । कूल क्षेत्रफल दुई लाख २२ हजार २८१ हेक्टरमध्ये ३७ हजार दुई सय नौ हेक्टरमा मात्र खेती गर्ने गरिएको छ । एक लाख ८४ हजार ८२० हेक्टरमा जंगल रहेको छ भने २५२ हेक्टरमा खोला, नदी र तालले ढाकेको छ । बाह्रैमहिना सिँचाइ सुविधा चार हजार ९७१ हेक्टर जमिनमा मात्र गर्न सकिन्छ । वर्षातका बेला आकासे पानीले सिँचाइ गर्न सकिने जमिन दुई हजार ९४२ हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०९:१८