बाँके । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा खटिएसँगै मतदाता परिचयपत्र वितरणको कार्य पनि आजैदेखि थालेका छन् । यससँगै सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट मतदान स्थल निर्माणका लागि आवश्यक तयारी गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख वसन्तराज अधिकारीले जानकारी दिए ।
चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । दुई लाख ७६ हजार ६१८ मतदाता रहेको बाँकेमा १३६ मतदान केन्द्र, ३२७ मतदान स्थल रहेका छन् । चुनाव सम्पन्न गराउनका लागि झण्डै २ हजार ६१६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।
मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खटिने बताउँदै जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख अधिकारीले १९ र २० गते प्रत्येक मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचयपत्र वितरण जानकारी दिए । उनले मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र लिन मतदातालाई आग्रह गरे । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रशासकीय अधिकृत खगेन्द्र पौडेलका अनुसार सबै मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिसकिएको छ । उनले भने, ‘सबै निर्वाचन क्षेत्र र मतदान केन्द्रको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोलीसहितको क्याम्प राखिएको छ ।’
प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीका टोली परिचालन गरिएको बताउँदै उनले नेपाली सेनाको टोलीले पनि सुरक्षा दिने बताए । प्रशासकीय अधिकृत पौडेलले भने, ‘गाउँगाउँमा सुरक्षाकर्मीको टोली पुगेको छ, बाँके पूर्णरुपमा सुरक्षित छ, सुरक्षाका लागि रिजर्भ फोर्स र स्ट्रेरिङ फोर्स तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्दा सुरक्षाकर्मीको थप टोली पठाउन सकिने व्यवस्था गरिएको छ ।’ जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना भएको अवस्थामा १० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था गरिएको र निर्वाचनको सबै सुरक्षाका लागि आवश्यक व्यवस्था पूरा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
।