काठमाडौं । मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बताएको छ । आयोगका अनुसार ४५ जिलका २२ लाख मतदाताले परिचयपत्र पाउने छन् । स्थानीय चुनावपछि थपिएका मतदाताको मात्र परिचय पत्र बनाइएको भन्दै आयोगले थपिएका र पहिला परिचय पत्र नलिएका मतदातालाई परिचय पत्र बुझ्न आग्रह गरेको छ ।
आयोगका अनुसार स्थानीय चुनावमा परिचय पत्र पाएकाहरुले त्यहि परिचय पत्र देखाएर भोट हाल्न पाउने छन् । मंगलबार परिचयपत्र वितरण सँगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगको भनाइ छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । मतदाताहरुले सम्बन्धित मतदान केन्द्र पुगेर परिचय पत्र लिन सक्नेछन् । परिचयपत्रसँगै मतदान गर्ने तरिका सिकाइने हुँदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न आयोगले आग्रह गरेको छ ।
।