सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा २४ हजार प्रहरी परिचालन, निर्वाचन बिथोल्न खोज्ने १२५ जनामाथि मुद्दा

कृष्ण अधिकारी/बाँके । बिहीबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रदेश ५ मा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदाताहरुलई प्रभावित पार्न विभिन्न किसिमका डरधम्की देखाउने, साना हतियार तथा विस्फोटक पदार्थ ओसारपसार गर्ने व्यक्ति तथा समूहमाथि कडा निगरानी थालिएको हो । दोस्रो चरणको निर्वाचनमा शान्ति सुरक्षामा खलल र्पुयाउन खोज्ने १ सय ३८ जनालाई हालसम्म पक्राउ गरिएको छ भने १२५ माथि मुद्दा चलाइएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब २४ हजार प्रहरी परिचालन गरिएको मल्लले बताए। सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन भएका छन् । भारतसँग जोडिएका सीमा नाकाहरुलाई १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म शिल गरी आवागमनमा रोक लगाइएको छ । त्यसैगरी सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरुको गस्ती पेट्रोलिङलाई बढाउनुका साथै आकस्मिक चेकप्वाइन्ट खडा चेकजाँच सुरु गरिएको छ ।
मादक पदार्थ ओसारपसार र बिक्रीवितरणमा रोक लगाउनुका साथै मतदान स्थलहरुमा आजैदेखि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता मल्लले बताए । निर्वाचन विरोधी कार्य गर्ने व्यक्ति तथा समूहको गतिविधि नियन्त्रण गर्न सवारीसाधन, होटल, लज, कारखाना, डेरा तथा अन्य संवेदनशील स्थानमा समेत प्रहरीले खानतलासीलाई तीव्र बनाएको छ । ५ नम्बर प्रदेश अन्तर्गतका बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही र पश्चिम नवलपरासी गरी १० जिल्लाका १ हजार ५०१ मतदानस्थल तथा ३ हजार १६६ मतदान केन्द्रमा २१ गते मतदान हुँदैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०६:१५