बाँके । बाँकेको राप्तीपारी दुध बिक्री गर्ने कुनै दुध बिक्री केन्द्र नभएकोले पशुपालनमा आधारित रहेर घरपरिवार चलाउदै आएका किसानहरुको लगानी समेत घाटामा गईरहेको किसानहरुको गुनासो रहेको छ । बाटोघाटो, शिक्षा तथा स्वास्थ्यमा समेत पछाडि परेको सो क्षेत्रमा लगानी अनुसार नाफा नहुनु र सम्बन्धीत क्षेत्रले कृषकहरुको समस्याका बारेमा ध्यान नदिँदा किसानहरुको पशुपालन व्यवसाय पनि धरासायी हुदै गएको छ ।
पशुपालन नै जीवकोपार्जनको मुख्य आधार भएपनि पशुपालनबाट हुने दुध, दही र अन्य परिकारको बिक्री बितरण गर्ने ठाँउ नभएपछि गुजारा चलाउन समस्या परेको नरैनापुर गाँउपालिका,५ मटेहियाका किसान महाजन यादव बताउँछन् । कडा परिश्रम गरी भैसी पालेको भए पनि दुध बिक्री गर्ने बजार नपाएर श्रम खेर गइरहेको यादवको भनाई रहेको छ । नेपालगन्जमा ४० देखि ५० रुपैयाँ प्रतिलिटर बिक्री हुने दुध नरैनापुरमा भने २० रुपैयाँ प्रतिलिटर मात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको कृषक यादव बताँउछन् ।
‘नेपालगन्ज हाम्रो गाउँदेखि ३८ किलोमिटर टाढा रहेको र बाटोको सुविधा नभएको र समयमा दुध पु¥याउन नसक्ने भएकोले छिमेकी देश भारतको ककरदरीमा लगेर भारतीय १०–१२ रुपैयाँमा दुध बेच्नुपर्छ,’ किसान महाजन यादवले भने, ‘दुध खरीद गर्ने व्यक्तिले भनेको समय अनुसार दुध पु¥याउन नसके दुध पनि फर्काएर घरमै ल्याउनुपर्छ, अनि खपत नभएर विग्रेर जान्छ ।’ नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता रहेको बताउने यादव मटेहिया देखि नेपालगञ्जको दुरी धेरै टाढा रहेकोले स्वदेशमै दुध विक्री गर्न नपाएको गुनासो गर्छन् ।
बाँके जिल्लाको अति दुर्गम मानिने मटेहियादेखि नेपालगन्जसम्म दुध पु¥याउनका लागि यातायात र बाटोघाटोको अभावका कारण महंगो शुल्क तिरेर पशुपालन गरेपनि नाफा पाउन नसकेको यादवले बताए । छरछिमेकबाट ऋण लिएर भैसी र गाई पालेका यादव नजिकमा रहेको सामुदायिक बनमा पशुका लागि गौचरण नछुट्याइएका कारण महंगोमा धानको भुस, तोरीको पीना लगायतको आहार किन्नुपरेको तर बजार अभावका कारण लगानी अनुसार नाफा कमाउन नसक्दा चिन्तित भएका बताउँछन् । अन्य कुनै व्यवसाय नभएर पशुपालनबाटै आयआर्जन गरी घरखर्च चलाउन कर्जा लिएर २० हजारमा भैसी किने पनि दुधको बजार नहुँदा ऋणसमेत तिर्न नसकेको अर्का कृषक रमेश यादवले बताए ।
यादवले बर्षभरी गाउँकै जमिदारको हलिया भएर जोत्ने शर्तमा २० हजार ऋण लिई भैसी किनेको भए पनि दुध उचित मुल्यमा विक्री नहुँदा लगानी खेर गएको दुखेसो पोखे । कृषि र पशुपालनका लागि सरकारी स्तरबाट ऋणको व्यवस्था भएको सुनिए पनि कहाँ र कसरी पाउने भन्ने थाहा नभएकोले हाम्रो व्यवसाय ओझेलमा पर्दै गइरहेको रमेश यादवको भनाई छ । छरछिमेकमा मागेअनुसार ऋण नमिल्ने धितो राख्ने जग्गा र बस्तुभाउ नहुँदा व्यवसायमा चाहेजति लगानी गर्न नसकिएको उनको भनाई छ । जग्गा भएका किसानहरुलाई पनि सदरमुकाममा केन्द्रित कर्जा दिने बैंकहरु जग्गा धितो लिइ कर्जा लगानी गर्न नमान्ने गरेकोले किसानहरु चाहेअनुसार व्यवसाय गर्न नसकिरहेको सोही गाँउका बुद्धिजिवी भोला नाथ पाठक बताउँछन् ।
पाठकका अनुसार सदरमुकामका बैकहरुमा कर्जाका लागि आफ्नो जग्गाको लालपुर्जा लगायतका कागजात लिएर जाँदा राप्ती क्षेत्र विकट भएको भन्दै ऋण दिन अस्वीकार गरी बैँकहरुले फिर्ता पठाउने गरेको छन् । बाँकेको नरैनापुर गाँउपालिकाका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुँईया र राप्ती सुनारी गाँउपालिकाको फत्तेपुर, बैजापुर, बिनौना लगायतका वडाहरु सदरमुकामदेखि टाढा रहेको र सो क्षेत्रमा दुध संकलन, प्रशोधन र बिक्री केन्द्र नरहेकोले त्यस क्षेत्रका झण्डै ७० हजार किसानहरुले पशुपालनबाट हुने लाभबाट बञ्चित रहेका छन् । सरकारले पनि त्यस क्षेत्रमा किसानहरुको लागि पशुपालनमा कुनै सहयोग न गरेका कारण किसान हरुलाई नोक्सानी पुगेको किसानहरुको गुनासो छ ।
त्यस क्षेत्रमा दुध संकलन केन्द्रको ब्यवस्था गर्न सके किसानहरुलाई आयआर्जन हुनुका साथै सरकारी राजस्वमा पनि वृद्धि हुने मटेहियाका स्थानीय ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता वकील यादवले बताए । राप्तीपारिका नामले चिनिएका ती वडाहरुलाई लक्षित गरी स्थापना भएको नरैनापुर पशु उपकेन्द्रमा नियमितरुपमा कर्मचारी नभेटिने र जिल्ला पशु कार्यालयले पनि किसानहरुलाई आवश्यक जानकारी नगराएकोले यस्ता सेवा सुविधाबाट किसानहरु बञ्चित हुने गरेको नरैनापुरका स्थानीय समाजसेवी गणेश बर्माले बताए ।
।