सूचनाको शक्ति - The Power Of Information

        

चुनावी दौडाहा : एजेन्डामाथि आलोचना हावी

दुर्गा दुलाल/काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आउन चार दिन बाँकी रहँदा राजनीतिक दलहरुसँग प्रचारका लागि २ दिनको समय छ । १९ गते मध्यरातिदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेपछि प्रचारप्रचार गर्न नपाइने भएकाले त्यसअघि नै चुनावी प्रचारमा बढीभन्दा बढी मतदातासम्म पुग्न दल र उम्मेदवारहरुव्यस्त छन् । दलहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिइरहँदा नेपाली कांग्रेस, वाम गठबन्धन लगायत विभिन्न दलहरु एक–अर्का विरुद्ध आरोपप्रत्यारोपमा उत्रिरहेका छन् । यस क्रममा दलहरुले आफ्नो एजेन्डा मतदातालाई सुनाउने कुरा त्यति प्राथमिकतामा राखेको देखिँदैन । चुनावी प्रचारमा कुन दलका नेता कहाँ सक्रिय रहे र कस्ता कुरामा समय खर्चिए ?

शेरबहादुर देउवा
विभिन्न जिल्लाको एक साता लामो दौडाहापछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले आफ्नै निर्वाचन क्षेत्र डडेलधुरामा छन्। डडेल्धुरा क्षेत्र नम्बर १ मा देउवा आफ्ना पुरानै प्रतिस्पर्धी माओवादी केन्द्रका नेता खगराज भट्टसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । पार्टी सभापतिको नाताले समग्र पार्टीलाई जिताउने जिम्मेवारी भएकाले देउवा मंसिर १४ गतेसम्म अन्य जिल्लाको चुनावी अभियानमा सक्रिय रहे । १४ गते वीरगञ्जका साथै सिरहा, सर्लाही र सप्तरीमामा सम्बोधन गर्दै लोकतान्त्रिक शक्तिलाई मत दिन आग्रह गरेका थिए । देउवाले पत्नी आरजु राणाको क्षेत्र कैलाली समेत पुगेर मत मागे । चुनावी सभाहरुमा देउवाले वामपन्थीहरुले चुनाव जिते देशमा अधिनायकवाद आउने भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे । सभाकै क्रममा ‘कम्युनिस्टले जिते रुन पनि पाइँदैन’ भन्ने उनको भनाइ निकै चर्चित बन्यो ।

केपी शर्मा ओली
वाम गठबन्धनका संयोजकमध्येका एक एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै निर्वाचन क्षेत्र झापा पुगेका छन् । ओलीले काठमाडौंदेखि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा र आफ्नै समकक्षी पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनसम्म पुगेर भोट मागे । काठमाडौं क्षेत्र नम्बर १ को नयाँ बानेश्वरका साथै ललितपुरको सभा हुँदै ओली भोट माग्न मधेसतिर पसे । काठमाडौंमा राजन भट्टराईदेखि माधव नेपालको क्षेत्रमा भोट मागेर अध्यक्ष ओली गृहजिल्ला पुगेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा रहेका ओलीलाई कांग्रेस नेता खगेन्द्र अधिकारीले टक्कर दिँदै छन् । झापामै ओलीले १५ गते राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी सभालाई सम्बोधन गर्न भ्याए । देशभर लोकतान्त्रिक गठबन्धनसँग सहकार्यमा रहेको राप्रपाले झापामा भने वाम गठबन्धनसँग सहकार्य गरेको छ । अघिल्लो साता भने पश्चिम नेपालमा केन्द्रित भएका ओलीले एकै दिन सुर्खेत, दैलेख र बैतडी पुगेर वाम गठवन्धनको पक्षमा भोट मागे । चुनावी सभाहरुमा ओलीले कांग्रेसले लगाइरहेको अधिनायकवाद आउने कुराको खण्डन गर्दै यो चुनावमा वामपन्थीको बहुमत आउने र बलियो सरकार बनाएर देशको समृद्धिमा लाग्ने बताए । नेपालगञ्जको सभामा उनले कसैले ढाल्न र हल्लाउन नसक्ने सरकार बनाउने दाबी गरेका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
वाम गठबन्धनका अर्का प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस पटक अघिल्ला निर्वाचनहरुमा जस्तो देश दौडाहामा देखिएनन् । चितवन क्षेत्र नम्बर ३ मा उठेका प्रचण्ड चितवनमै चुनावी प्रचारमा रहेका बेला छोरा प्रकाशको हृदयघातबाट काठमाडौंमा निधन भएपछि उनी जिल्लाको कार्यक्रममा हिँडेनन् । चितवन ३ मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धामा रहेका दाहाल यस पटक आफ्नै निर्वाचन क्षेत्रमा बढी केन्द्रित भए । यसपछि उनी काठमाडौं र तराईका केही विशेष सभामा मात्र सहभागी भए । चुनावी सभाहरुमा दाहालले चुनावपछि वाम गठबन्धनको स्थिर सरकार बन्ने र ५० वर्षसम्म वाम सरकारले नै देश हाँक्ने समेत भन्न भ्याए ।

रामचन्द्र पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पनि पछिल्ला केही दिन पार्टी सभापति शेरबहादुर देउवासँगै निर्वाचन प्रचारमा देखिँदै आफ्नै निर्वाचन क्षेत्र तनहुँ पुगेर प्रचारमा व्यस्त छन् । मंसिर २१ गते हुने निर्वाचनमा एक पटक सबै मतदाताको घरदैलो पुगेपछि पौडेल सभापति देउवासँग कास्की र मकवानपुरमा चुनावी सभामा सहभागी भएका थिए । वाम शक्तिले गठबन्धन गरेको र पार्टी्भित्र उम्मेदवारी दर्ताको समयमा विवाद भएकाले पौडेल आफ्नै क्षेत्रमा केन्द्रित हुँदै आएका थिए । पौडेलले यस पटक एमालेका केदार सिग्देलसँग प्रतिस्पर्धा गर्दै छन् ।

कमल थापा
राप्रपाका अध्यक्ष कमल थापा निर्वाचनमा आफ्नै क्षेत्रमा चुनावी प्रचारमा व्यस्त देखिए । कांग्रेससँग लोकतान्त्रिक मोर्चामा सहभागी भएर चुनाव लडिरहेको राप्रपाले पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटा पनि टिकट पाएन । दोस्रो चरणको निर्वाचनमा भने राप्रपालाई नेपालगञ्ज र दैलेखमा राप्रपालाई लोकतान्त्रिक मोर्चाले समर्थन गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई समेत आफ्नो पक्षमा मत माग्न लगाउँदै थापा यतिबेला गृहजिल्ला मकवानपुरमा घरदैलोमा व्यस्त छन् । ०६४ सालको पहिलो संविधानसभामा पराजित भएका थापा ०७० को निर्वाचनमा समानुपातिकमा बसेका थिए । यस पटक विगतको नजिता उल्टाउँदै आफ्नो पक्षमा नतिजा ल्याउने सुरमा थापा छन्। थापालाई मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहालले टक्कर दिँदै छन् । थापासामु ०४८ सालदेखिकै प्रतिस्पर्धी दाहाललाई पाखा लगाउने चुनौती छ ।

गगन थापा
काठमाडौं क्षेत्र नम्बर ४ मा उठेका नेपाली कांग्रेसका युवा नेता गगन थापा एमालेका युवा नेता राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वा्चित भएका थापालाई उक्त क्षेत्र कायम राख्नुपर्ने चुनौती छ भने एमालेका भट्टराई त्यसलाई उल्टाउने दाउमा छन् । वाम गठबन्धनपछिको चुनावी प्रतिस्पर्धा भएकाले कडा टक्कर हुने आकलनका साथ थापा चुनावी अभियानमा छन् । आफ्नो क्षेत्रको चुनावी प्रचारमा सक्रिय रहेका थापाले झापा क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा रहेका अर्का युवा नेता विश्वप्रकाश शर्मालाई सामाजिक सञ्जालबाटै मत मागिरहेका छन् । शर्माले पनि थापाका लागि सामाजिक सञ्जालबाटै मत मागेका छन्। शर्मासँग माओवादीका नेता राम कार्की प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ०३:४०