सूचनाको शक्ति - The Power Of Information

        

खुले नेपालगन्जका उद्योगी, वाम गठबन्धनलाई जिताउन सार्वजनीक अपील


बाँके । नेपालगन्ज अगुवा उद्योगी, व्यवसायीहरुले राजनीतिक स्थायित्व र समृद्धिका लागि वाम गठबन्धनका पक्षमा खुलेरै मत मागेका छन् । पहिलो पटक सार्वजनिक वक्तव्य जारी गरी उद्योगी, व्यवसायीहरुले वाम गठबन्धनका पक्षमा मत मागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठदेखि नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) सम्मले वाम गठबन्धनलाई मतदान गर्न आव्हान गरेका छन् । अपिलमा हस्ताक्षर गर्नेहरुमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यदेखि नेपाल वन पैदावार उद्योग महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष कपिलप्रसाद अधिकारीसम्म छन् ।
नेपालमा कपर किङ्गको उपाधीले परिचित प्रसिद्ध उद्योगपति कन्हैयालाल वैद्यदेखि उड किङ्गका रुपमा ख्याती कमाएका चम्पालाल बोथ्रासम्मले हस्ताक्षर गरेको अपिलमा वाम गठबन्धनका तर्फबाट ‘बा“के क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पशुपतिदयाल मिश्र र प्रदेश सभा सदस्य क्षेत्र २ (ख)का उम्मेदवार विजय गुप्तालाई सुर्य चिन्हमा मतदान गरी विजयी गराउन’ आव्हान गरिएको छ । ‘यो ऐतिहासिक अवसर पनि हो’, अपिलमा हस्ताक्षरकर्ता मध्येका अगुवा व्यवसायी अजय गुप्ताले उद्योगी, व्यवसायीहरु यसरी दलको पक्षमा खुल्नु कति जायज हो भन्ने जिज्ञासामा भने, ‘हामीले करदाताको सम्मान र व्यवसायिक प्रतिष्ठा स्थापित गर्न वाम गठबन्धनले अघि सारेका दुवै उम्मेदवारलाई समर्थन गर्ने टुंगोमा पुग्यौं ।’


वक्तव्यमा व्यवसायीहरुले व्यापारिक समस्या अनुभूति गरी निराकरणको पहल गर्न जडिबुटी, पर्यटन, कृषि लगायत उद्योग, व्यापारमा टेवा पुर्याउन उद्योगी, व्यवसाय मैत्री ऐन, कानुन एवं नीति नियम बनाउन वाम गठबन्धन सक्षम रहेको विश्वास गरिएको छ । ‘नेपालगन्जलाई आर्थिक केन्द्र महानगरको रुपमा विकास गर्न राजनीतिक स्थायित्व, शान्ति, स्थायी सरकार र सुशासनका निम्ति’ वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने । ‘राजनीतिक अस्थिरता र अनिश्चितताले मुलुक जरजर भयो यस्तो अवस्थामा राजनीतिक स्थायित्व अपरिहार्य छ’, अर्का हस्ताक्षरकर्ता नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान उपमहासचिव रचना श्रेष्ठले भनिन् ।
हस्ताक्षर गर्नेहरु होटल व्यवसायी महासंघका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उद्योगपति प्रदिप छाजेड, औषधी व्यवसायी संघ भेरीका अध्यक्ष अभय बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष सतिश कुमार अग्रवाल, वर्तमान उपमहासचिव तारा रोकाय खत्री, जडिबुटी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष संजय जैन, अग्रणी व्यवसायी अय्युव हलवाई, अमृत सिंह थारु, अनय शर्मा, सन्तोष गोयन्का, अनिल मित्तल, पवनकुमार अग्रवाल, लोकेन्द्र अर्याल, खुर्शिद राई, धु्रव कुमार वैश्य, जितेन्द्र सिंह ठाकुर, सुरेश अग्रवाल, वकिल अहमद, अब्दुल नसिम लगायत छन् । –नेपालगन्ज न्यूजबाट

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ०२:२३