सूचनाको शक्ति - The Power Of Information

        

उम्मेदवारहरु अन्तिम कसरतमा, कतै घरदैलो कतै कोणसभा


बाँके । आसन्न मसिर २१ गते को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार अवधी सकिनै लाग्दा बाँकेका उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् । उम्मेदवारहरु मतदाताको मन जित्न कसैले घरदैलो, कसैले कोण सभा त कसैले आमसभा गरेर मत मागेका छन् । घरदैलो सम्पन्न गरिसकेका कुनैकुनै दल र उम्मेदवारहरुले मौन अवधि सुरु हुन केही समय बाँकी रहँदा आफ्ना चुनावी एजेण्डासहित दोस्रो पटक पनि घरदैला गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनले जिल्लाका सबै वडा टोलमा घरदैलो तथा कोणसभा सकेको जनाएको छ । कात्तिक २८ गतेदेखि थालेको बृहत घरदैलो मंसीर ११ गते सकेको वामगठबन्धनले यो बीचमा छुटेका व्यक्ति र ठाउँठाउँमा कोणसभा र भेटघाट गरेको छ । वाम गठबन्धनका उम्मेदवारले आइतबार मात्रै एक दर्जन ठाउँमा कोण सभा गरेको छ । टोलटोल व्यक्तिलाई भेला पारेर बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले सम्बोधन गरेका छन् ।
बेलासपुर, फुलटेक्रा, भृकुटीनगर, कोरियनपुर, औद्योगिक क्षेत्र, पिप्रहवा लगायतका ठाउँमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवारद्वय मिश्र र गुप्ताले अब देशमा बामपन्थीको स्थायी सरकार बन्ने भएकाले जिल्लाको विकास र समृद्धिका लागि आफूहरुलाई मत दिन आग्रह गरे । ‘हामीलाई राजनीतिमा लागेर कमाउला भन्ने छैन । विकासका काम गरेर नाम कमाउने मात्रै हो, उम्मेदवारद्वयले भनेका छन्, हामीलाई सामाजिक सेवा गर्ने मौका दिनुस् ।’
प्रतिनिधि सभाका उम्मेदवार मिश्रले जिल्ला र केन्द्रलाई जोड्न सक्ने र केन्द्रमा बामपन्थीको सरकार बन्ने भएकाले जिल्लाको विकासमा गति थप्न आफूलाई जिताउन आग्रह गरे । ‘केन्द्र र प्रदेशमा बामपन्थीको सरकार बन्छ, तपाईहरुले यहाँ अरुलाई जिताएर काम हुँदैन, मिश्रले भने, जिल्लाको विकास र समृद्धिका लागि बामपन्थीलाई जिताउनुस् ।’ प्रदेश सभाका उम्मेदवार गुप्ताले विकास निर्माणलाई प्राथमिकता दिने र शून्य भ्रष्टाचारमा काम गर्ने आफूले प्रतिबद्धता गरिसकेको बताए ।
‘मलाई विधायकको तलव भत्ता चाहिएको छैन, तपाईहरुले विकासको काम गर्ने मौका दिनुस्, गुप्ताले भने, मैले तपाईहरुकै सेवा गर्ने हो । आफूलाई केही गर्न छैन ।’ यसैबीच बाम गठबन्धनका नेताहरुले मधेसी र मुस्लिम समुदायको उत्थान र विकासका लागि वाम गठबन्धनको बिकल्प अरु राजनीतिक दल हुन नसक्ने दावी गरे । बाँकेको जानकी गाउँपालिकाको इन्द्रपुर मानपुरमा आइतबार भएको सभालाई सम्बोधन गर्दै नेताहरुले नेपाली काँग्रेस र मधेसवादी दलहरुकै कारण मधेसले अपेक्षित गतिमा विकासको गति लिन नसकेको बताएका हुन् ।


कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले राजनीतिक स्थायत्वि र विकासका लागि बाम गठबन्धन बनेको बताउदै नेपाली जनताको विकासको चाहना बाम गठबन्धनले मात्रै पुरा गर्न सक्ने बताए । प्रदेशसभाका उम्मेदवार बाबुराम गौतमले मधेसी र मुस्लिम समुदायको हक अधिकारका लागि बामपन्थी दलहरु स्थापनाकालदेखि नै संघर्षरत रहेको भन्दै मधेसको विकास बाम गठबन्धनको नेतृत्वमा बन्ने केन्द्रीय र प्रदेश सरकारले मात्रै गर्न सक्ने बताए । यसैगरी लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसले पनि आइतवार जोडतोडका साथ बिभिन्न स्थानमा चुनावी कोणसभा गरेको जनाएको छ ।
बाँके क्षेत्र नं.३ को खजुरामा आयोजित कोणसभामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि काँग्रेसलाई मतदान गर्न आव्हान गरेकी छन् । चुनावी कोणसभालाई सम्वोधन गर्दै काँग्रेस सभापति कोइरालाले वाम गठबन्धनका नाममा कम्युनिष्टहरुले मुलुकमा अधिनायकवाद लादन खोजेको भन्दै त्यस विरुद्ध लोकतान्त्रिक शक्तिले गतिलो जवाफ दिनुपर्ने बेला आएको वताइन् । ‘प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त काँग्रेसले राणाशासनलाई परास्त गर्योे, नारायणहिटीको राजालाई नागार्जुन पुरायो,’ उनले भनिन्, ‘कम्युनिष्टहरु पनि यस्तै रवैयाले अघि बढे पतन निश्चित छ ।’
कम्युनिष्टहरुले आधार इलाका मान्दै आएको क्षेत्रमा सयौं कार्यकर्ता उपस्थित चुनावीसभालाई सम्वोधन गर्दै सभापति कोइरालाले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त फेरि एक पटक काँग्रेसलाई मतदान गर्न अपिल गरिन । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका पूर्व पार्टी सभापति युवराज शर्माले मुलुकमा कम्युनिष्ट शासन स्थापित भए नागरिकहरुले बोल्न पाउने अधिकारी समेत गुमाउने वताए । दक्षिण कोरिया, क्युवाका नागरिकहरु रुन समेत पाउँदैनन् शर्माले भने, ‘रुने र हास्ने अधिनायकवाद रोज्ने की स्वतन्त्र भएर बोल्न हास्न पाउने अधिकार रोज्ने त्यो मतदाताको हातमा छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै अर्का पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठले यो चुनाव स्थानीय तहको जस्तो नभएकाले सोचेर, विचार गरेर मतदान गर्न मतदाताहरुलाई अपिल गरे । ‘आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन ३६ सालको जनमत संग्रह जस्तै हो, सहभागी मतदाताहरुलाई प्रश्न गर्दै उनले भने, ‘तपाई प्रजातन्त्र मास्नेलाई जिताउने की जोगाउनेलाई ?, सोचेर मतदान गर्नुहोला ।’ कार्यक्रमलाई प्रतिनिधिसभा ३ का उम्मेदवार बादशाह कुर्मीले सम्वोधन गर्दै समृृद्धि र विकासका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ०१:३८