सूचनाको शक्ति - The Power Of Information

        

बेतन कर्णाली निर्माण प्रक्रिया अघि बढ्यो, डीपीआर र सम्भाव्यता अध्ययन गर्न टेण्डर आह्वान


काठमाडौं । ६८८ मेगावाटको बेतन कर्णाली निर्माणका लागि कर्मचारी सञ्चय कोषले प्रक्रिया अघि बढाएको छ । बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र सम्भाव्यता अध्ययनका लागि सञ्चयकोषले अब टेण्डर आहृवान गर्न लागेको छ । अर्ध जलाशययुक्त यो आयोजना विद्युतको उच्च माग हुने समयमा यसलाई उपयोग गर्न सकिन्छ । तामाकोसी जलविद्युत आयोजनापछि ठूलो खालका जलबिद्युत आयोजना निर्माणका लागि खासै ठोस काम अघि बढ्न सकेका छैनन् ।
देशमा अहिले पिक समयमा विद्युतको माग व्यवस्थापन गर्नलाई प्राधिकरणलाई गाह्रो छ । यस्ता अर्ध जलाशययुक्त आयोजनाको निर्माण भएसँगै पिक समयमा विद्युत आपूर्ति गर्न प्राधिकरणलाई सहज हुनेछ । सञ्चय कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले भने ‘तामाकोसी पछि देशमा ठूलो आयोजनाको निर्माण अघि बढेन अब हामीलाई तत्काल अर्धजलाशययुक्त आयोजनाको आवश्यकता छ, त्यसैले बेतन कर्णाली निर्माण अघि बढाएका हौं ।’ यस आयोजना निर्माणको लागि कम्पनी समेत दर्ता भइसकेको छ । सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका नाममा दर्ता भएको यो कम्पनीमा ४० प्रतिशत सञ्चयकर्ता र १५ प्रतिशत कोषको गरी जम्मा ५५ प्रतिशत स्वामित्व छ ।
साथै यसमा विद्युत प्राधिकरणको समेत लगानी हुनेछ । विद्युत प्राधिकरणको १० प्रतिशत र अन्य विद्युत उत्पादनको १० प्रतिशत सेयर रहनेछ । र २५ प्रतिशत सेयर भने सर्वसाधारणका लागि जारी गर्न लागेको छ । १० प्रतिशत र १५ प्रतिशत सेयर देश भरीका सर्वसाधारणका लागि जारी गरिनेछ । यस आयोजनाको लागत ७० अर्ब आँकलन गरिएको रौनियार बताउँछन् । सञ्चय कोषले नाफाको ८० प्रतिशत नाफा आफ्ना सञ्चयकर्तालाई प्रदान गर्ने गरेको छ तर अब त्यस्तो नाफा नबाढी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्न लागेको हो । सञ्चयकर्ताहरुले उक्त नाफा स्वरुप पाउने रकमको ब्याज समेत जोडेर सो बराबरको सेयर उपलब्ध गराउने कोषको तयारी छ । रौनियारका अनुसार सञ्चय कोषसँग २५६ अर्ब रुपैयाँको कोष छ । जसबाट कोषले बाषिर्क डेढ अर्ब नाफा गर्ने गरेको छ । यस्तो डेढ अर्बको ८० प्रतिशत नाफा आफ्ना ६ लाख सञ्चयकर्तालाई बाड्ने गरेको छ ।
अहिले कोषमा १ लाख रुपैयाँ रकम रहेको सञ्चयकर्ताले ६०० रूपैयाँ जति कोषको नाफाबाट प्राप्त गर्ने गरेको छ । तर अब यस्तो रकम सञ्चयकर्तालाई नबाँडी आयोजनामा लगानी गर्न लागिएको छ । यसरी कोषले प्रदान गर्ने गरेको नाफा बेतन कर्णालीमा लगानी गर्नको लागि कोषले बाटो समेत खुला गरेको छ । सञ्चयकर्ताको मुनाफा रकमलाई शेयरमा लगानी गर्नेसम्बन्धी विनियमावली जारी गर्दै कोषले उक्त रकम लगानी गर्नका लागि बाटो खोलेको हो । यसरी लगानी गर्दा सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको ४० प्रतिशत शेयर रहनेछ । रौनियारका अनुसार यो आयोजनामा दैनिक ६ घन्टा पानी सञ्चय गरेर राख्न सकिनछ । अर्धजलाशययुक्त यो आयोजना विद्युतको उच्च माग हुँदा सञ्चालन गरि मागलाई पुर्ति गर्न सकिन्छ ।
आव २०७२÷०७३ देखिको नाफालाई आयोजनामा लगानी गर्न लागिएको हो । यसका लागि २०७२÷०७३ को नाफाबाट १ अर्ब २९ करोड र गत आर्थिक वर्ष २०७३÷०७४ को नाफाबाट १ अर्ब ७८ करोड छुट्यइसकिएको रौनियार बताउँछन् । यसरीे हेर्दा कोषले ३ अर्ब बराबरको रकम अहिले नै शुरक्षित गरिसकेको छ । सञ्चयकर्ताबाट छ वर्षमा नौ अर्ब पूँजी जुट्ने रौनियार बताउँछन् । विभिन्न वित्तीय उपकरण जारी गरेर समेत यसका लागि आवश्यक रकम जुटाउने रौनियार बताउँछन् । जसमा ४ देखि ५ प्रतिशतसम्म ब्याज प्रदान गरिनेछ । यसको लागत ४ वर्षमा नै उठ्ने उनको दावी छ ।

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतवार ०८:०३